spot_img

पर्वतमा मतदाताको उत्साह, झण्डै ७० प्रतिशतले गरे मतदान

पर्वत, बैशाख ३१ । आज सम्पन्न स्थानीय तहको निर्वाचन पर्वतमा उत्साहजनक रुपमा सम्पन्न भएको छ । केही सामान्य घटनाबाहेक पर्वतमा समग्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । झण्डै २० बर्षपछि भएको स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले मतदान गरेका छन् ।
पर्वतमा ९९ हजार दुई सय ४३ मतदाता रहेकोमा ६९ हजार ७५ जना मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । जसमा मतदान गर्नेमा पुरुषभन्दा महिला झण्डै १० हजार रहेका छन् । पर्वतमा २९ हजार आठ सय ७८ जना पुरुष र ३९ हजार एक सय ९७ जना महिला मतदाताले मतदान गरेका छन् ।
कुश्मा नगरपालिकामा १७ हजार छ सय ११, फलेवास नगरपालिकामा १२ हजार नौ सय ७६, पैंयूँ गाउँपालिकामा छ हजार आठ सय २४, मोदी गाउँपालिकामा १० हजार नौ सय ४१ , जलजला गाउँपालिकामा नौ हजार छ सय ४९, विहादी गाउँपालिकामा छ हजार दुई सय १६ र महाशिला गाउँपालिकामा चार हजार आठ सय ५८ मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले केही छिटपुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा एक सय २९ मतदान केन्द्र रहेको थियो । निर्वाचन सम्पन्न भएपछि सबै मतपेटिका सम्बन्धित स्थानीय तहको केन्द्रमा ल्याइएको छ ।

spot_img

भर्खरै