पर्वत, बैशाख २७ । मतदातालाई धम्क्याउदै हिडेको अवस्थामा नेकपा एमालेका १९ कार्यकर्तालाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । महाशिला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको हो । एमालेलाई मत नहालेमा जेठ १ गते देखाउने भन्दै धम्की दिदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
निर्वाचनको वाताबरण विथोल्ने गरि मतदातालाई धाकधम्की दिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेमा एमाले होश्राङदीका प्रेम बिक सहितका रहेका छन् । होश्राङदीका रोशन गुरुङ लगायत केही सर्वसाधारणलाई भोट नहालेमा जे पनि गर्ने भन्दै लछारपछार गरेको बताइएको छ ।
उनीहरुले एमालेलाई भोट नदिए त्यसको परिणाम जेठ १ गते देखाउने धम्की दिने गरेको स्थानीयले जनाएका छन् । निर्वाचनमा पराजय भोग्ने त्रासले अन्य जिल्लावाट गुण्डा झिकाएर एमालेले दक्षिणी पर्वतका सर्वसाधारणहरुलाई आतंकित गराउन थालेको छ । नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल राजले भने सबै मतदातालाई बिनात्रास आफ्नो मत सुरक्षित रुपमा खसाल्न आग्रह गरेका छन् । उनले मतदान गर्नका लागि जस्तोसुकै आतंक भएपनि नडराउन आग्रह गरेका छन् ।