spot_img

चुनावका लागि गाउँगाउँ खटिए कर्मचारी

पर्वत, बैशाख २७,पर्वतमा बुधबार सबै कर्मचारी मतदानस्थलतर्फ लागेका छन् । मतदानका लागि आवश्वयक सामाग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित सुरक्षाकर्मीहरु मतदानस्थलतर्फ लागेका हुन । पर्वतका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले बुधबारदेखि सबै कर्मचारी मतदानस्थलतर्फ खटिएको बताए ।
‘जिल्लामा गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेका छौ, कर्मचारीलाई मतदानस्थलमा तोकेर पठाएका छौ’ उनले भने–‘बिहिबारदेखि मतदाता परिचयपत्र बितरण र मतदानस्थलमा आवश्यक तयारी सुरु हुन्छ ।’ यसैगरी पर्वतमा स्वतन्त्र र भयरहित वातावरणमा स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यस्तै जिल्लाका दुई नगरपालिका र पाँच वटा गाउँपालिकामा छुट्टाछुट्टै निर्वाचन अनुगमन टोली परिचालन गरिएको छ ।
कुश्मा नगरपालिकामा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसाल, फलेबास नगरपालिकामा जिल्ला बन अधिकृत कृष्णप्रसाद ढकाल, जलजला गाउँपालिकामा बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, बिहादी गाउँपालिकामा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
त्यसैगरी मोदी गाउँपालिकामा खानेपानी कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेल, पैंयू गाउँपालिकामा बरिष्ठ पशु विकास अधिकृत डा.सुधिर थापा र महाशिला गाउँपालिकामा जिल्ला युवा समितिको कार्यालयका प्रमुख हेमनारायण चापागाईको नेतृत्वमा टोली परिचालन गरिएको छ । सात वटा तहमा पर्वतमा सुरक्षाकर्मीबाहेक सात सय ४४ जना कर्मचारी खटिएका छन् ।
प्रहरी अभावले महिलामैत्री भएन
महिला प्रहरी अभावले कुश्मा नगरपालिका वडा नम्बर ५ मा महिलामैत्री मतदानस्थल बनाउने प्रयास असफल भएको छ । जिल्लामा रहेका महिला प्रहरीलाई सबै मतदानस्थलमा खटाउदा महिला प्रहरी अभावले महिलामैत्री मतदानस्थल बनाउन कठिनाई भएको मुख्य मतदान अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।
‘कम्तीमा पनि जिल्लामा एउटा मतदान केन्द्रलाई महिलामैत्री बनाउने प्रयास हो तर महिला प्रहरीको अभावले नहुनेभयो’ भट्टराईले भने–‘जिल्लामा कम मात्रामा महिला प्रहरी रहेको र कुनै घटना भइहालेमा खानतलासीका लागि कम्तीमा एकजना महिला प्रहरी हरेक मतदान केन्द्रमा खटाउनुपर्ने हुदा महिलामैत्री बनाउन नसक्ने भयौ ।’

spot_img

भर्खरै