spot_img

लाइसेन्स नभएकाले पनि शिक्षक सेवा आयोग दिन पाउने

काठमाडौं वैशाख २६। सर्वोच्च अदालतले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई पनि शिक्षक सेवा आयोगको परीक्षामा सहभागी गराउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी लाइसेन्स नभएकाहरुलाई पनि परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

त्यसअघि सेतीदेवी प्रावि मातातिर्थ काठमाडौंकी कान्तिकुमारी ढुंगेल, समीभञ्ज्याङ मावि धादिङका बसन्तकुमार श्रेष्ठ, महेन्द्र माविका विनोदकुमार परियार लगायतले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग र शिक्षक सेवा आयोगविरुद्ध रिट दायर गरेका थिए ।

सरकारले २०५९ सालदेखि शिक्षण अनुमति पत्र पाएकाले मात्रै पढाउन पाउने नियम लगाएको थियो । त्यसका लागि शिक्षा शास्त्र संकाय पढेको वा दश महिने शिक्षक तालिम लिएको हुनुपर्दथ्यो । तरपछि नियमावली संशोधन गरी विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्टि्रक इन्जिनियरिङ, पशुपालन र बालीविज्ञान विषय अध्ययन गरेकाहरूले पनि शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरिएको थियो ।

शिक्षक हुनका लागि लाइसेन्स अनिवार्य गरिएको भए पनि पहिलो पटक विज्ञान, अंग्रेजी, कम्प्युटर, लेखा, बाल विज्ञान, इलेक्टि्रकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय लिई स्नातक तह उत्तीर्ण गरेकाले माध्यमिक तहमा लाइसेन्सविनै शिक्षक हुन पाउने गरी बाटो खुला गरिएको छ ।

spot_img

भर्खरै