पर्वत, बैशाख २५ । नेपाली काँग्रेस फलेवास नगरपालिकाले आफ्नो चुनावी अभियान अन्र्तगत आज नगरको मुडिकुवा र खानीगाउँ वडामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्वोधन गदै नेपाली काँग्रेस पूर्वसाँसद ऋषिकेश तिवारीले आफ्नो पार्टीको पक्षमा देशव्यापी चुनावी लहर आएको बताए । उनले लोकतान्त्रिक संविधान कार्यान्वयन र मुलुकलाई आर्थिक समृद्धि गरी स्वदेशमै रोजगारी, आयआर्जनका लागि पनि जनताले काँग्रेसलाई बहुमत दिने दावी गरे । काँग्रेसले बोलेका कुरा पुरा गरेर देखाउने पार्टी भएकाले काँग्रेसलाई मत दिन उनको आग्रह थियो ।
कार्यक्रममा फलेवास नगरपालिकाका नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार गंगाधर तिवारीले नगरलाई समृद्ध बनाउने एजेण्डा काँग्रेससँग मात्र भएको बताए । तिवारीले फलेवास नगरपालिकाका पाङराङ र कार्किनेटासम्मका सवै वडालाई समान रुपमा विकास र समृद्धिको सिँढीमा चढाउने संकल्प सहित आफु घरदैलोमा लागेको बताए ।
हरेक वडामा संभावना हेरेर उद्योग स्थापना, सडक कालोपत्रे, दलित, जनजाती, अपाङग, जेष्ठ नागरिकलाई आवश्यक सम्मान, सामाजिक सुरक्षा, आयआर्जन गरी स्वरोजगार वनाउने, हरेक स्वास्थ्य संस्थामा एक जना विशेषज्ञ डाक्टरको व्यवस्था गराउने जस्ता योजना पुरा गर्ने उनको प्रतिवद्धता छ ।
उपमेयरका उम्मेदवार रेखा गुरुङले नगरवासीका पिरमर्कामा साथ दिँदै समस्या र अभावमा अल्झिएका वर्गको उत्थानमा राजनीतिमा होमिएकाले अवका दिनमा त्यस्ता वर्गको उत्थानका लागि समर्पित हुने अठोट व्यक्त गरिन । उनले अत्याधुनिक अस्पताल स्थापना गर्ने, सबै ठाउँमा सिंचाई सुविधा पु¥याउने, कृषिमा नगरलाई आत्मनिर्भर बनाउने र प्रत्येक घरलाई एक घर एक रोजगार नीति ल्याउने दाबी गरिन ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य राधा कुवँर क्षेत्री, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारी, मुडिकुवाका वडाध्यक्ष पदका उम्मेदवार वालकृष्ण तिवारी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेल र कार्यक्रम सञ्चालन बिद्यार्थी नेता अच्युत तिवारीले गरेका थिए ।


