पर्वत, बैशाख २५, जिल्लामा चुनावी चहलपहल तिब्र छ । दलका उम्मेदवारहरु माइकिङ, पर्चा, पम्प्लेट लिएर घरदैलो तथा चुनावीसभालाई ब्यापक बनाएका छन् । यसैक्रममा पर्वतको बिहादी गाउँपालिकामा समेत चुनावीप्रचार अभियान निकै द्रुतस्तरमा अघि बढिरहेको छ । अन्य दल भन्दा कांग्रेसले प्रचारप्रसारलाई तिब्र बनाएको छ ।
बिहादीका स्थानीय पत्रकार बिषन क्षेत्रीकाअनुसार केही दिनयताको प्रचार–प्रसार र माहौलले बिहादी गाउँपालिका नेपाली काँग्रेसमय भएको छ । नेपाली काँग्रेसले चर्चित युवा नेता परबिन गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएपछि स्थानीयबासी विकास निर्माणको काममा बढि आशाबादी हुँदै काँग्रेसको माहौलमा साथ दिएका छन् ।
यसैक्रममा बिहादीमा भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले अब काँग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा आयोजित चुनावी सभामा काँग्रेस नेता जोशीले भने–‘चुनाव नजिकिदै जादा सबै गाउँघर काँग्रेसमय भएको छ, त्यसैले अब कुनै शक्तिले हराउन सक्दैन ।’
नेपाली काँग्रेस सात दशकदेखि नेपाली जनताको स्वतन्त्रतामा लड्दै आएको र त्यही संघर्षबाट मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको चर्चा गर्दै जोशीले अब नेपाललाई आर्थिक रुपमा समृद्धि बनाउन पनि स्थानीय, प्रदेश र संघ गरी तिनै तहको चुनाव नेपाली काँग्रेसले भारी मतका साथ जित्नैपर्ने बताए ।
उनले बिहादी गाउँपालिकालाई कसरी समृद्धि बनाउन सकिन्छ भन्ने भिजन काँग्रेससँग मात्रै भएकोले यो अवसरलाई सबै मतदाताले सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक परिवर्तनसहित शान्ति र संविधानसभामार्फत नयाँ संविधान काँग्रेसकै नेतृत्वमा भएको र अब मुलुकको समृद्धि पनि काँग्रेसकै नेतृत्वमा हुन आवश्यक भएकोले स्पष्ट बहुमतका साथ बिजयी हुनेमा बिस्वस्त भए ।
‘ढाट, छल, उखान, टुक्का र बन्दुकको नालबाट मात्रै सत्ता कब्जा गर्नसकिन्छ भन्ने पार्टी रोज्नेकी जनताको सुख, दुखमा साथ दिने नेपाली काँग्रेस पार्टी रोज्ने अब मतदाताको हातमा छ’ काँग्रेस केन्द्रीय सदस्य जोशीले भने । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, सचिव युक्तप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।