लुम्बिनी (रुपन्देही), भदौ ३१। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क (चिडियाखोला) सम्मको सडकलाई ८२ फुट कायम गर्दा ३०० वटा घर भत्काउनुपर्ने अवस्था देखिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयले हालै गरेको नापीअनुसार सडकको दायाँबायाँ रहेका ४०० घरमध्ये ३०२ वटा घर ८२ फुटभित्र पर्ने देखिएको हो । यस्ता घरलाई भत्काएर सडकलाई ८२ फुट कायम गरिने कार्यालयले जनाएको छ ।
सडक कार्यालयले यही भदौ १ गतेदेखि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको दायाँबायाँ ८२ फुटभित्रका संरचना हटाउने बताए पनि विभिन्न आन्दोलन र बन्द हडतालले गर्दा डेढ महिनाको अवधि थप गरेको छ । कार्यालयका इन्जिनियर नरेन्द्र भट्टले भदौ १ गतेदेखि संरचना हटाउने भनेर सूचना प्रकाशित गरेपनि विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द हड्तालले गर्दा समयमा काम सुरु गर्न नसकिएको बताउनुभयो ।
“यसबीचमा हामीले कति घर ८२ फुटभित्र परेका छन् भनेर नापी ग¥यौँ ।” इन्जिनियर भट्टले भन्नुभयो, “नापीमा व्यक्तिगत÷सार्वजनिक गरी ३०२ वटा घर तथा टहरा सडकभित्र परेका छन् ।”
उहाँले कार्यालयले पुनः एक वा डेढ महिनाको समय थप गरेर सडकमा परेका संरचना हटाउन समय दिने र त्यसपछि पनि नहटाइएका संरचना कार्यालयले हटाउने जनाउनुभयो । सडकमा परेका घरको कति भाग भत्काउनु पर्छ भन्नेबारे कार्यालयले अब चिह्न लगाउन थाल्ने उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार ३०० घरमध्ये आधाभन्दा बढी घरको एक भाग मात्र भत्काउनुपर्ने अवस्था देखिएको छ ।
यसअघि बुटवलको सडक निर्माण गर्दा कार्यालयले ८२ फुटको लालपुर्जा नभएकाले सडक मिचेर बनाइएका संरचना हटाउन सकेको थिएन । कार्य क्षेत्र रुपन्देही र नवलपरासीको ३०० किलोमिटर पर्ने सडक डिभिजन कार्यालय बुटवलले आव २०६९-०७० मा बुटवलदेखि नवलपरासीको गैडाकोटसम्म ११४ किलोमिटर सडकभित्रका संरचना हटाएको थियो ।
त्यस्तैगरी, २०७०–७१ मा भूमही–भैरहवा सडकखण्डभित्रको ३० किमी सडक सफा गरेको थियो । इन्जिनियर भट्टले भन्नुभयो, “यस वर्ष (२०७२) भित्र बुटवलको तीन किलोमिटर सडक सफा गर्ने कार्ययोजना छ ।” त्यस्तै, आगामी वर्ष भैरहवा–लुम्बिनी २४ किमी सडकलाई फराकिलो बनाउने योजना सडक डिभिजनले गरेको छ ।
बुटवल–बेलहिया सडक निर्माणका क्रममा ८२ फुटमा परेका भवन पनि सडक कार्यालयले धमाधम हटाइरहेको छ । पुष्पलाल पार्कदेखि तिनाउ पुलसम्मको सडक भने ५० फुट कायम भएका कार्यालयले जनाएको छ ।
यसअगाडि नै उक्त सडकखण्डलाई कार्यालयले ५० फुट नै कायम गर्ने भनेर नापी गरेको बताइएको छ । सडक कार्यालयमा ३० जनाले घरको कति भाग सडकभित्र पर्छ चिह्न लगाइदिनुप¥यो, हामी आफ्नो घर आफैँ भत्काउँछौँ भनेर निवेदन समेत दिएको कर्मचारीले बताए । सरकार देशभरका मुख्य राजमार्गलाई ८२ फुट कायम गराउने अभियानमा जुटेकाले यसको कार्यान्वयन बुटवलमा पनि गर्न लागिएको हो ।
बुटवलको चार लेन सडक बनाउँदा लालपुर्जा नभएकाले ७५ फुटलाई आधार बनाएर निर्माण गरिएको थियो । सडक डिभिजन कार्यालयले अतिक्रमित संरचना हटाउन सूचना प्रकाशित गरेपछि आसपासका घरधनी चिन्तित भएका छन् ।
चार लेन सडक निर्माणको क्रममा अतिक्रमित संरचना हटाउने भनिए पनि लालपुर्जाको कारण नहटाइएपछि घरधनी ढुक्क भएका थिए । तर अहिले सडक ८२ फुट कायम गर्न थालिएपछि घरधनीमा नयाँ तरङ्ग फैलिएको छ । सरकारले यस वर्षदेखि मुख्य राजमार्ग (हाइवे) लाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार १०५ फुट कायम गर्ने योजना ल्याएको छ । रासस