काठमाडौँ, भदौ ३० । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अङ्ग बनेको घोषणा गरेका छन् ।
संविधानसभाको बुधबारको बैठकमा अध्यक्ष नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेककको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनेर राखेकामा बैठकले त्यसलाई पारित गरेको हो ।
उनले संविधानको नाम ‘नेपालको संविधान २०७२’ रहने जानकारी दिए । यो संविधान २०७२ असोज महिनाको ३ गतेदेखि प्रारम्भ हुने उनले बताए ।