काठमाडौँ, भदौ ३० । संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुईतिहाईभन्दा बढीमतले बुधबार पारित गरेको छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले मत विभाजन प्रक्रियाद्वारा पारित गरेको हो ।
हाल संविधानसभामा तत्काल कायम रहेको ५९८ सङ्ख्यामध्ये विधेयकको पक्षमा ५०७ मत परेको थियो । विपक्षमा भने २५ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्ले विपक्षमा मतदान गरे ।
संविधानसभामा बुधबार भएको मतदान प्रक्रियामा ५३२ सभासद्ले भाग लिएका थिए । दुई तिहाइ बहुमतका लागि ३९९ मत आवश्यक पर्दथ्यो ।
संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३१ रहेकामा त्यसमध्ये १० राजनीतिक दल र एक जना स्वतन्त्र सभासद् चन्द्रेश्वर झा संविधानसभा बाहिर छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका १५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, तराई मधेस लोकतान्त्रिक पार्टीका ११, सद्भावना पार्टीका ६, नेपाल सद्भावनाका १ , तराई मधेस सद्भावना पार्टीका ६, थरुहट तराई पार्टीका २, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, जनअधिकार फोरम गणतान्त्रिकका १, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका (थरुहट) १ सभासद् हालको संविधानसभाको प्रक्रियाबाट बाहिरिएका छन् ।
संविधानसभामा ६०१ सभासद् रहने संवैधानिक व्यवस्था रहेकामा मन्त्रिपरिषद्बाट मनोनित हुन २ जना बाँकी रहेको तथा पूर्व प्रधानमन्त्री एवं सभासद् सूर्यबहादुर थापाको निधनपछि राप्रपाका एक जना सभासद् मनोनयन हुन सकेको थिएन ।
सभामा मतदानपछि सभासद्हरु एक आपसमा खुुसी साटासाट गर्नुका साथै शीर्षनेतासँग मोबाइलबाट फोटो खिच्ने काममा व्यस्त थिए । साँझ ७ः३० बजे प्रारम्भ भएको पछिल्लो बैठकमा मतदानको कार्य भने राति ८ः३० सम्म चलेको थियो ।
विधेयक पारित भएको खुशीयालीमा अधिकांश सभासद् खुसी देखिन्थे भने संविधानसभा अध्यक्ष नेम्वाङको मुहारमा पनि विशेष चमक देखिन्थ्यो ।
संविधानसभाको अर्को बैठक आगामी असोज ३ गते अपराह्न ५ बजे बस्ने छ ।