काठमाडौं, भदौ १७ । नेपाल एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपविजेतामा सीमित भएको छ ।
मलेसियामा सम्पन प्रतियोगितामा अफगानिस्तान शतप्रतिशत नतिजा निकाल्दै विजेता बनेको हो । ६ टोली सहभागी प्रतियोगितामा नेपालले अफगानिस्तानसँग ब्यहोरेको एकमात्र हारले उपविजेतामा चित्त बुझाउनुपर्यो ।
नेपालले विहीबार आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ९ विकेटले पराजित गर्दा विहीबारै अफगानिस्तानले आयोजक मलेसियालाई ७ विकेटले हरायो । यो खेलमा अफगानिस्तानको ठूलो अन्तरको हारले मात्रै नेपाल उपाधि विजेता बन्ने अवस्था थियो । तर, उसले फराकिलो जित दर्ता गर्यो ।
क्वालालम्पुरस्थित किन्नरा ओभल मैदानमा मलेसियाले दिएको १०६ रनको विजयी लक्ष्य अफगानिस्तानले १७१ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टाएसँग ऊ च्याम्पियन बनेको हो ।
प्रतियोगितामा अफगानिस्तानले सबै प्रतिद्धन्द्धीलाई हराउन सफल भयो । नेपालले युएई, मलेसिया, कुबेत र साउदी अरेबियालाई हरायो भने दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
राउन्ड रोबिन लिगको आधारमा भएको यस प्रतियोगिताको शीर्ष ३ मा रहन सफल अफगानिस्तान, नेपाल र मलेसिया यु–१९ एसिया कपका लागि भने छनोट भएका छन् ।