काठमाडौं भदौ १५ । सत्ताधारी दल नेपाली काँग्रेसको १३ औं महाधिवेशन फेरि सरेको छ ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार बसेको केन्द्रिय समिति बैठकले पार्टी महाधिवेशन अब नयाँ संविधान जारी भएपछि वा अन्तरिम संविधानको संशोधनपछि मात्र तोकिने भएको छ ।
आगामी असोज २–५ गतेसम्म काठमाडौंमा निर्धारण गरिएको काँग्रेसको महाधिवेशन मंगलवार बसेको केन्द्रिय समिति बैठकले स्थगित गरेको प्रवक्ता दिलेन्द्र वडुले जानकारी दिएका छन् ।
भदौको १७ गतेदेखि पार्टीका गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन हुने भनिए पनि केन्द्रिय समितिले अर्को सूचना नहुँदासम्म भन्दै मिति समेत तोकेको छैन् ।
१२ औं महाधिवेशनबाट चार बर्षका लागि निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिएपछि पार्टीको विधानमा भएको व्यवस्था अनुरुप एक बर्ष थप गरिएको थियो।
अब पनि महाधिवेशन गर्न नसक्दा काँग्रेसलाई संवैधानिक संकट आउनेछ । त्यसैले काँग्रेस अन्तरिम संविधानमा रहेको पाँच बर्षे कार्यकाल संशोधनका लागि अन्य दलहरुसँग परामर्श गरिरहेको छ ।
महाधिवेशनको मिति तोक्दै पटक पटक सारिएको छ ।