spot_img

मगर संघद्धारा म्याग्दी बन्द फिर्ता

म्याग्दी, भदौ १४ । नेपाल मगर संघको मगराँत संघर्ष समितिले सोमबार आह्वान गरेको मगराँत क्षेत्र बन्दको कार्यक्रम म्याग्दीमा फिर्ता लिएको छ ।

केन्द्रीय कार्यक्रमअनुसार बन्द आह्वान गरिए पनि म्याग्दीमा फिर्ता लिएको नेपाल मगर संघ म्याग्दीका सचिव राजकुमार थापाले जानकारी दिए ।

म्याग्दीमा बिहानैदेखि शैक्षिक संस्थामा पठनपाठन भएको छ । सवारीसाधन पनि सञ्चालन भएका छन् । बजारका पसल पनि खुलेका छन् ।

उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मगराँत क्षेत्रलाई टुक्र्याइएको विरोधमा मगर समुदायले बन्द आह्वान गरेका हुन् । उनीहरुले मगर समुदायको धेरै बसोबास रहेको म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, रोल्पा, रुकुम र प्युठान जिल्लालाई एउटै प्रदेशमा समावेश गर्नुपर्ने माग राखेका छन् ।

प्रशासनिक सुगमताका हिसाबले म्याग्दीलाई पछिल्लो पटक समावेश गरिएको ५ नम्बर प्रदेशनै अनुकूल भएकाले केन्द्रीय समितिले गरेको बन्दको कार्यक्रममा सहभागी नभएको मगर संघ म्याग्दीका सचिव थापाले बताए । बन्दबाहेकका मगर समुदायको अन्य मागप्रति भने संघले समर्थन गर्ने थापाले बताए । रासस

spot_img

भर्खरै