भक्तपुर, ८ भदौ । गत वैशाख ७ गते आमा मञ्जुलाई फोन गरेर म छिट्टै घर आउँछु भनेको छोरा सबिन खड्का हिमपहिरोमा परेर नफर्किएपछि अनन्तलिङ्गेश्वर नगरपालिका–१०, दधिकोट खड्का गाउँका देवराज खड्काको परिवार विक्षिप्त अवस्थामा छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका नेपाली सेनाका उपसेनानी २८ वर्षीय सबिन खड्का घर फर्कन्छ कि भन्ने आशामा देवराजको परिवार पर्खेर बसेको पनि चार महिना बित्यो । गत वैशाख १२ गतेको भूकम्पसँगै आएको हिमपहिरोमा परेर बेपत्ता भएका अनन्तलिङ्गेश्वर नगरपालिका–१०, दधिकोट खड्का गाउँका सबिनसँगै १० नेपाली सैनिकको टोली बेपत्ता भएको थियो ।
खटिएकामध्ये ६ जना छुट्टीमा र दुईजना फोन गर्न बाहिर बजार गएका बेलामा भूकम्पसँगै आएको हिमपहिरोमा परेर उनीहरु पुरिएको विश्वास गरिएको छ । सबिनसँगै ओमहरि खड्का, जयकुमार माझी, फुर्वा तामाङ, कुमार गुरुङ, वीरेन्द्र मण्डल, महेन्द्र आले, सोमराज कुमाल, रामचन्द्र मण्डल, मदन जलारी र केशव बिष्ट बेपत्ता भएका थिए । बेपत्तामध्ये केशवको शव पत्ता लागे पनि अरूको भने अझै कुनै अत्तोपत्तो छैन ।
परिवारको एक्लो छोरा बेपत्ता भएदेखि नै आमा मञ्जुले अनन्तलिङ्गेश्वर मन्दिर र दिदीको घरमा अखण्डदीप बालिरहनुभएको छ । भूकम्पले घर पूरै भत्काएको पीडाभन्दा पनि छोरा बेपत्ता भएको पीडाले धेरै पिरोलिएका आमाबाबुले घर बिर्सिएरै भए पनि छोरा फर्कने आशामा अखण्डदीप बालेर बसेका छन् । “मलाई विश्वास छ, मेरो छोरालाई केही भएको छैन, अखण्डदीप एकनासले बलिरहेको छ, सपना पनि राम्रो छ, मेरो छोरा सकुशल छ,” सबिनको आमा मञ्जु भन्नुहुन्छ, “छोरा तिमी छिटो घर आऊ ! तिम्रो पर्खाइमा हामी छौँ ।”
मञ्जुको गह भरिएका आँसुले छोराप्रतिको मायालाई पोखिरहेको थियो भने उनीसँगै बस्ने परिवारजनको पनि आँखा ओभाएको छैन । “महाभूकम्प गएको चार महिना बित्न लाग्यो, सरकारले आफ्नै कर्मचारीको खोजीमा लागेन,” सबिनका बुबा देवराज भन्नुभयो – “भूकम्पपछि छोराको केही खोजखबर आएन, सरकारले पनि पछि खोजी गर्न चासो दिएन, हामीले खोज्दा पनि पाएनौँ, कहिले फर्कन्छ खै हाम्रो छोरा ।” नेपाली सेनाको हेडक्वार्टरमा धर्ना दिएर दबाब दिँदा पनि वास्ता नगरेको परिवारको गुनासो छ ।
अखण्ड दीप बालेर बस्नुभएको आमा मञ्जु भन्नुहुन्छ, “वैशाख ७ गते छोराले फोन गरेको थियो, यहाँ मोबाइलको टावर छैन, बेला–बेलामा म आफैँ फोन गर्छु, फोन गर्न बाहिर जानुपर्छ, नआत्तिनूस् आमा बिदा मिलाएर म चाँडै आउँछु भनेको थियो, फेरि कुनै खबर आएको छैन ।”
सरकारले खोजी देला भनेर मात्रै बसेनन्, छोरा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्न परिवार दिनरात खट्दै आएको छ । खोजी गर्दै परिवार लाङटाङसम्मै पुगे पनि पत्तो लागेन । सबिनका बुबा देवराज भन्नुहुन्छ – “खोजी गर्न हामी लाङटाङसम्मै पुग्यौँ । पहाड खसेर ध्वस्त भएको रहेछ । मरेका पशुको हड्डी देख्यौँ । छोराको क्याम्पसहित बस्ती नै ध्वस्त भएछ तर भाग्न सक्ने ठाउँ पनि प्रशस्तै छ । त्यसैले जीवितै छ भन्ने आशा पालेका छौँ ।”
सबिनको खोजीमा परिवारले धेरै ज्योतिष पनि देखाए । अधिकांशले सबिन जीवितै छ, फर्केर आउँछ भने पछि उनीहरुको आशा झन् थपिएको हो । सबिन फुपू बाटुली थापाका अनुसार सबिन बेपत्ता भएदेखि नै आमा विक्षिप्त बन्नुभएको छ । आमा मञ्जुले छोरा फर्कने आशामा भगवान्को नाम जप्ने, पूजा गर्ने, बत्तीमा तेल थप्ने र बत्ती काट्दै दिन बिताउने गर्नुभएको छ ।
शिविरबाट तिब्बत नजिकै भएकाले भागेर तिब्बतमा पुगेको हुनसक्ने अनुमान छ परिवारको । क्याप्टेन सबिनको परिवारले सरकारले तिब्बतमा समेत खोजी गरिदिन आग्रह गरेका छन् । रासस