जापान (टोकियो) । चीनमा आयोजित आईसीसी सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष सुबास लामिछानेले विदेशमा रहेका नेपालीको समस्या समाधानमा नेपाल सरकार गम्भीर रूपमा चुकेको बताएका छन्।
उनले जापानमा नेपाली समुदायले दूतावासलाई स्वयंसेवी सहयोग गर्दै समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरिरहेको तर सरकारले भने नेपालीका समस्या सुन्ने र सम्बोधन गर्ने विषयमा ‘कानमा तेल हालेर बसेको’ गुनासो गरे।
लामिछानेले सम्मेलनमा सहभागी केही ‘माननीय’हरू उद्घाटनपछि सम्मेलनका विषयमा केन्द्रित हुनुभन्दा चीन भ्रमणमा बढी व्यस्त देखिएको भन्दै आपत्तिसमेत जनाए। विदेशमा रहेका नेपालीका समस्या र अधिकारका विषयमा गम्भीर बहस हुनुपर्ने महत्वपूर्ण मञ्चलाई घुमफिरमा सीमित नगर्न उनले खबरदारी गरे।
विदेशमा रहेका नेपालीले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको भन्दै उनीहरूको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने उनको माग छ।


