पर्वत/मंगलबार अर्घाखाचीमा भएको सवारी दुर्घटनाका घाइतेलाई निशुल्क उपचारको ब्यवस्था मिलाउन पर्वतबाट निर्वाचित सांसद सागर भुसालले माग गरेका छन् । प्रतिनिधिसभा बैठकको बुधबार आकस्मिक समय लिएर भुसालले घाइतेको निशुल्क उपचारको ब्यवस्था मिलाउन माग गरेका हुन ।
पर्वतको मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङबाट सुपादेउराली गएको बस फर्कनेक्रममा दुर्घटनामा परेको थियो । घटनापछि सांसद भुसालले बुधबार बैठकमा बोल्दै सबै घाइतेको उपचार र मृतकका परिवारलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । उनले घटनाको छानबिन गरी आगामी दिनमा यस्ता घटना नहुने बाताबरण मिलाउन पनि आग्रह गरेका छन् । ‘सबै घाइतेको उपचार गराउने ब्यवस्था गर्न र परिवारलाई राहत मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।
घटनामा परी अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । घटनामा दुई दर्जनबढी घाइते भएका थिए । घाइतेहरुको अहिले मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । गम्भिर घाइते लिलाबहादुर कुँवरलाई बुधबारै थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ ।


