spot_img

राम्जाका १५ वर्षीय विपिन बाख्रा चराउँदै गर्दा बेपत्ता

पर्वत/ जिल्लाको मोदी गाउँपालिका–७ राम्जाका १५ वर्षीय बालक विपिन गौतम बाख्रा चराउँदै गरेको अवस्थामा बेपत्ता भएका छन् ।
सोमबार मध्यान्ह आफ्नै दाजु र हजुरआमाको साथमा घरबाट करिब एक घण्टाको दूरीमा रहेको पतेनीको बन तथा जरे खोलाको आसपासमा बाख्रा चराइरहेका उनी अचानक बेपत्ता भएका स्थानीय सुरेन्द्र शर्मा गौतमले बताए । व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेको परिवारले बाख्रा चराउने गरेकाले विपिन र उनका दाजु पनि परिवारका सदस्यको साथमा जङ्गल र खोला क्षेत्रमा जाने गरेका थिए ।
सोमबार दिउसो जरे खोलाको नजिकै हजुरआमा र दाजुले बाख्रा चराइरहेको र विपिन खेततर्फको खुल्ला क्षेत्रमा रहेको भए पनि त्यहीँबाट एकाएक बेपत्ता भएका हुन् । सोमबार दिउसोबाट नै खोला, जङ्गल, आफन्त र साथीहरुकोमा खोजी गरिएको भए पनि उनको अवस्थाका बारेमा केही पत्ता लाग्न सकेको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले रातीको एक बजेसम्म जङ्गल र खोला क्षेत्रमा उनको खोजी गरेको भए पनि उनको अवस्थाका बारेमा पत्ता लाग्ने कुनै सङ्केत फेला नपरेको परिवारले बताएको छ ।
‘हजुरआमाले देखेको केही मिनेटमा नै उनी खेतबाटै बेपत्ता भएका रहेछन् । त्यो जङ्गल पार गरेर जाने अवस्था थिएन तर पनि जङ्गलमा खोज्दा कुनै सङ्केत फेला परेन’, स्थानीय गौतमले भने, ‘उनीहरूले बाख्रा पालन गरेकोले चराउनको लागि बाहिर लैजाँदा कहिलेकाहीँ चितुवाले बाख्रालाई आक्रमण गर्ने गरेको थियो । विपिनलाई पनि चितुवाले आक्रमण ग¥यो भन्ने सङ्केत केही फेला परेन ।’
मध्यान्हदेखि बेपत्ता भएका विपिनको साँझ नै एस.इ.ई. को नतिजा पनि आएको छ । स्थानीय पशुपति माध्यमिक विद्यालयबाट एस.इ.ई. मा सहभागी भएका उनको नतिजा भने ‘नन ग्रेड’ आएको छ । उनी दिउसोबाट नै सम्पर्कविहीन रहेको र नतिजा भने साँझ अबेर आएकाले नतिजाको असर पनि उनमा नरहेको विद्यालयका प्रधानाध्यापक यादव शर्माले बताए ।
विपिनका दाजु कक्षा १२ मा अध्ययनरत छन्। उनका बुबा प्रकाश गौतम सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।

spot_img

भर्खरै