spot_img

कारागारबाटै छुटेको रात श्रीमतिको हत्या

पर्वत, जिल्लाको मोदी गाउँपालिका–६ दराकमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै रात उनले घरमा श्रीमतिको हत्या गरेका हुन । ५१ वर्षीय जितबहादुर बिकले सोमबार राति करिब १ बजेतिर श्रीमती ५२ वर्षीया सीता बिकको कुटपिट गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार श्रीमतीलाई कुटपिट गरी गम्भिर घाइते अवस्थामा उनले घरकै कोठामा राखेका थिए ।
घटनालगत्तै बुहारी शोभा बिकले जितबहादुरले सासूलाई आक्रमण गरी गम्भीर अवस्थामा सिरक ओढाइ राखेको भन्ने सूचना प्रहरीलाई दिएकी थिइन् । लगत्तै प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी हवलदार सोमबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले सीतालाई टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा भेटेको थियो । लगत्तै प्रहरीले सीतालाई प्रदेश अस्पताल पर्वतमा लगेको थियो । उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजे सिताको निधन भएको हो ।
घटनापछि जितबहादुरलाई छिमेकीहरूले घरमा नै कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार जित बहादुर सोमबार मात्रै जिल्ला कारागार पर्वतबाट छुटेका थिए । उनी जबरजस्ती करणी मुद्दामा कारागारमा राखिएका थिए । घरमा श्रीमती सहित एकजना बुहारी र दुई महिनाकी नातिनी गरी चारजना बसेका थिए । तीन छोरा रोजगारीका लागि विदेशमा रहेको प्रहरीले बताएको छ ।
घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक सुदीप भण्डारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । मृतक सिताले श्रीमान जबरजस्ती करणी मुद्दामा जेल परेपछि लामो समयदेखि राजनीतिक दलका नेता, कर्मचारीसंग श्रीमान छुटाइदिन हारगुहार गर्दै आएकी थिइन ।

spot_img

भर्खरै