पर्वत–कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले हरेकले सीप सिक्नुपर्ने र त्यो सीपलाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा आजदेखि सुरु भएको किचन हेल्पर र जुनियर ब्युटिसियन तालिमको शुभारम्भ गर्दै जोशीले सीप लिएपछि बेरोजगार हुनुनपर्ने बताउनुभयो ।
‘हरेक युवायुवतीमा सीप हुनुपर्छ, चाहे आफ्नै देशमा केही गर्छु भन्ने होस् वा बैदेशिक रोजगारीमा जान होस्’ जोशीले भन्नुभयो । बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीले पनि आवश्यक सीप तालिम लिएर जानुपर्ने उहाँको जोड थियो । ‘हचुवाको भरमा बैदेशिक रोजगारीमा जानुहुँदैन, सबै बुझेर मात्रै गएमा अफ्ठ्यारोमा परिन्न’ उहाँले भन्नुभयो । तालिममा सहभागी युवायुवतीलाई सही रुपमा सिक्नमा ध्यान दिन र सिकेको सीपलाई साच्चिकै ब्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नुभएको थियो । कुश्मा नगरपालिकाले स्वरोजगारमा ध्यान दिएर सीपमुलक तालिममा जोड दिएको बताउँदै जोशीले नगरपालिकाले गरेको लगानीलाई खेर जान नदिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सीप लिएका युवायुवतीमा इच्छाशक्ति भयो भने कसैप्रति निर्भर हुनुनपर्नेमा जोड दिनुभयो । उपप्रमुख रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद तिवारी, सामाजिक विकास समितिका संयोजक एवम् कुश्मा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इश्वर गिरीलगायतले बोल्नुभएको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक कुलचन्द्र रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य रोजगार संयोजक अमृत सुबेदी राख्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत धु्रबराज पौडेलसहित तालिममा सहभागी हुने ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।




