पर्वत–नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघ पर्वतको एउटा पक्षले आज आयोजना गरेको अधिवेशनबाट अधिवेशन आयोजक कमिटि गठन गरी टुंगिएको छ । राष्ट्रिय सभाका पुर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना पक्षको बहिष्कारका बाबजुद पुर्वमन्त्री पदम गिरी पक्षले हिजोसम्म अधिवेशन भनेर प्रचार गरेपनि भेलाबाट सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।
अधिवेशन शुभारम्भसंगै तिमिल्सिना पक्षका युवाहरुले ब्यानर च्यात्ने प्रयास गरेपछि गिरी पक्षपनि आक्रामक भएको हो । दुवै पक्षबिच केही समय हानाहान हुदा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जनको टाउको फुटेको छ । रगताम्य भएका पौडेलको शान्तिदिप अस्पताल कुश्मामा पाँच टांका लगाइएको छ । दुई पक्षबिच झडप भएपछि प्रहरीको घेराबन्दीका साथ गिरी पक्षले उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षता र उपसचिव धुब्र श्रेष्ठको संचालनमा भेला गरेर अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।
पदम गिरी पक्षको भेलाले आशिष श्रेष्ठ संयोजक, धुब्र श्रेष्ठ र भरत सुबेदी उपसंयोजक रहेको अधिवेश आयोजक कमिटि गठन गरेको सार्वजनिक गरेको छ । उता नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी पनि भेलाबाट आयोजक कमिटि गठन भएपश्चात पर्वत अस्पताल पुगेका छन् । उनी पक्षिय नेता कार्यकर्ताले अध्यक्ष पहाडीको समेत शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
एमालेनिकट युवा संघको अधिवेशन भनेपनि झडप पछि बन्यो सम्मेलन आयोजक कमिटी, एउटा पक्ष बाहिरै


