पर्वत–नेकपा एमालेको गण्डकी प्रदेश कमिटि र पर्वत जिल्ला कमिटिले बिपरित विज्ञप्तीबाजी गरेका छन् । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज मध्यान्ह भएको दुई गुटको झडपलाई लिएर प्रदेश र जिल्ला कमिटिले आ–आफ्नो पक्षको पक्षपोषण हुनेगरी बिज्ञप्तीबाजी गरेको छ । घटनापछि गण्डकी प्रदेश कमिटिले विज्ञप्ती जारी गरी गण्डकी प्रदेश कमिटिका सदस्य अर्जुन पौडेल निर्जनमाथि सांघातिक आक्रमण भएकोले दोषीलाई कारबाही गर्न माग गरेको छ ।
जिल्ला अध्यक्ष गोबिन्द पहाडीसहितका नेताहरु उपस्थितिमा भएको घटनाको निन्दा प्रदेश कमिटिले गरेको छ । उता जिल्ला कमिटिका सचिव सुबासचन्द्र पौडेलले जारी गरेको विज्ञप्तीमा गण्डकी प्रदेश कमिटिका सदस्य अर्जुन पौडेल निर्जन हलको पछाडी पट्टी रहेको पिल्लरमा ठोक्किएर घाइते भएको दाबी गरिएको छ । जिल्ला कमिटिले पौडेलसहितका समुह ब्यानर च्यात्न आएर आक्रमण गरेको पनि दाबी गरिएको छ । जिल्ला कमिटिले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न केन्द्रीय समितिसमक्ष माग गरेको छ ।
यसैबिच नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघ पर्वतको एउटा पक्षले आज आयोजना गरेको अधिवेशनबाट अधिवेशन आयोजक कमिटि गठन गरी टुंगिएको छ । राष्ट्रिय सभाका पुर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना पक्षको बहिष्कारका बाबजुद पुर्वमन्त्री पदम गिरी पक्षले हिजोसम्म अधिवेशन भनेर प्रचार गरेपनि भेलाबाट सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।
दुई पक्षबिच झडप भएपछि प्रहरीको घेराबन्दीका साथ गिरी पक्षले उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षता र उपसचिव धुब्र श्रेष्ठको संचालनमा भेला गरेर अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।
पदम गिरी पक्षको भेलाले आशिष श्रेष्ठ संयोजक, धुब्र श्रेष्ठ र भरत सुबेदी उपसंयोजक रहेको अधिवेश आयोजक कमिटि गठन गरेको सार्वजनिक गरेको छ । उता नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी पनि भेलाबाट आयोजक कमिटि गठन भएपश्चात पर्वत अस्पताल पुगेका छन् । उनी पक्षिय नेता कार्यकर्ताले अध्यक्ष पहाडीको समेत शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।



