पर्वत–जिल्ला बास्केटबल संघ पर्वतमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार कुश्मामा सम्पन्न दोस्रो अधिवेशनले मिनबहादुर तिलिजाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा ताराबहादुर पुन, उपाध्यक्षमा लुकबहादुर फकामी, सचिवमा निरमाया पाइजा पुन, कोषाध्यक्षमा राजकुमार पुन र सदस्यहरुमा गंगा पुन, माया तिलिजा, कृष्ण पुर्जा, दिपक पुर्जा, दिपक शेरपुर्जा, डिलबहादुर फकामी रहनुभएको छ ।
दोस्रो अधिवेशनबाट सबै जना सर्बसम्मत रुपमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश पुनले जानकारी दिनुभयो । निर्वाचित कार्य समितिका पदाधिकारीलाई प्रमाणपत्र बितरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन (बुद्ध)ले जुनसुकै खेलबाट पनि मानिसको शारिरिक तथा मानसिक विकास हुने भएकोले पनि खेल सबैलाई आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो समाज, जिल्ला तथा मुलुकको पहिचान दिन पनि खेल क्षेत्रको विकास जरुरत रहेको धारणा राख्दै तीन वटै सरकारले खेलक्षेत्रलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
अध्यक्ष पुनले जिल्ला बास्केटबल संघको बिधान तयार गरेर यसको विकासमा लाग्न आग्रह गर्दै जिल्ला खेलकुद संघ पर्वतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ पर्वतका अध्यक्ष सोम पुन, पुन युवा क्लबका अध्यक्ष कृष्ण पुन, युवा नेता प्रकाश पुनलगायतले बास्केटबलको बारेमा बोल्नुभएको थियो ।




