छविलाल तिवारी
पर्वत, जेठ ९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले सनातन हिन्दुधर्म नेपाली राष्ट्रियतासँग जोडिएको बताएका छन् । पर्वतको कुश्मामा भएको गुप्तेश्वर बिराट कोटीहोम महायज्ञलाई सम्बोधन गर्दै भण्डारीले सनातनधर्ममाथिको आक्रमणले राष्ट्रियता कमजोर बनेको धारणा राखे ।
नेपाली राष्ट्रियतासँग हिन्दुधर्मको बर्षौदेखिको साइनो भएको भन्दै उनले हिन्दु धर्ममाथिको आक्रमणले देशको अस्तित्व र पहिचान समाप्त हुनेतर्फ गएको दाबी गरे । ‘हाम्रो पहिचान भनेको सनातन हिन्दु धर्म हो, हाम्रो हिन्दु धर्मलाई बचाउन सकेनौ भने भोली हाम्रो देशको पहिचान र अस्तित्व नै समाप्त हुनेछ’ भण्डारीले भने–‘म सबै राजनीतिक दल र जनतालाई भन्न चाहन्छु, हाम्रो सनातनदेखि मान्दैआएको धर्मलाई समाप्त पार्न ठुलो कोसिस हुँदै आएको छ त्यसले हाम्रो राष्ट्रियता नै समाप्त पार्छ ।’
उनले धर्म आफैमा नैसिर्गक अधिकार भएपनि नेपालमा बनेका मठमन्दिर र बेदको बिषयमा चिन्तन गर्नुपर्ने धारणा राखे । ‘बेद कहाँबाट रचना भयो, नेपालमा यतिधेरै मठमन्दिर कसरी बने, ऋषिमुनिहरुले कहाँ तपस्या गरे’ उनले भने–‘आज बेदले के भनेको छ, बेदका बाणीले विज्ञानमा समेत सघाउ पुगेको कुराले पनि सनतन धर्म अझै सान्दर्भिक हुँदै गएको कुरालाई बिर्सन हुँदैन ।’
भण्डारीले नेपालको समृद्धिको आधार कृषि, जलस्रोत र पर्यटन भएको धारणा राख्दै पर्यटनमा पनि धार्मिक पर्यटनको ठुलो सम्भावना भएको दाबी गरे । ‘नेपालमा आएका पर्यटकमध्ये सबैभन्दा बढी धार्मिक पर्यटक नै रहेका छन, त्यसैले पनि धार्मिक स्थलको विकास गर्दै प्रचारप्रसार र सनातन धर्मको संरक्षण हुनुपर्छ’ उनले भने–‘तर बिडम्बना हाम्रो देशमा सनातन हिन्दु धर्मका बिरुद्ध ठुलो षडयन्त्र हुँदै आयो । हाम्रो सनातनलाई समाप्त पार्नका लागि ठुलो कोषिस हुँदै आएको छ ।’
नागरिकन्युजडटकमबाट
सनातन धर्ममाथिको आक्रमणले राष्ट्रियता कमजोर : पूर्वमन्त्री भण्डारी



