
पर्वत, जेठ ९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले हिन्दु धर्म संसारकै उत्कृष्ट भएपनि सत्ता राजनीतिको चेपुवामा परेको बताएका छन् । पर्वत सदरमुकाम कुश्मामा सञ्चालन भइरहेको गुप्तेश्वर बिराट कोटिहोम महयज्ञलाई बिहिबार सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन । सत्ताका निम्ति सनातन धर्मलाई कमजोर बनाउने काम भएको उनले बताए ।
हिन्दु धर्ममाथि आक्रमण गरी कमजोर बनाउने काम भएको आफुलाई पनि महसुस भएको भन्दै काँग्रेसका प्रभावशाली नेता जोशीले सनातन धर्म मासेर भन्दा सनातन धर्मको रक्षा र संरक्षण गरेर शान्ति आएको दाबी गरे । ‘धर्मलाई हामीले अफिम सम्झे हुम्ला, मठमन्दिर फ्याक्ने एउटा जमाना थियो । मुर्तिहरु पनि भत्काइए तर मुर्तिहरु भत्केर मुलुकमा शान्ति आउने रहेन्छ । साच्चिकै शान्ति त मठमन्दिर बनाएर त्यसको संरक्षण गरेर आउने रहेछ’ जोशीले भने–‘सनातन धर्ममाथि आक्रमण भइरहेको मैले पनि महसुस गरेको छु ।’
पैसासहित विभिन्न नाममा सरकार नै धर्मलाई कमजोर बनाउन उद्यत रहेको उनले आरोप लगाए । सनातन धर्ममाथि कुनै कमजोरी नभएको भन्दै यसको संरक्षण र संम्बद्र्धनले नेपालको पहिचान र राष्ट्रियताको संरक्षण गर्ने दाबी पनि जोशीले गरे । धर्मको माध्यमबाट महायज्ञहरु लगाएर थुप्रै शैक्षिक संस्थाको ब्यवस्थापन र सञ्चालनमा सघाउ पुगेको स्मरण गर्दै जोशीले सनातन धर्मको माध्यमबाट महान कामहरु भएको बताए । हिन्दुधर्म संसारकै धर्ममध्ये महान रहेको भन्दै उनले हिनताबोध भन्दा गौरब गर्नुपर्नेमा जोड दिए । सबैलाई सम्मान गर्ने भएका कारण पनि हिन्दुधर्म महान भएको उनको भनाई थियो ।
बिश्वकै अग्लो शिव पार्वतीको मुर्तिले पर्वत जिल्लाको पहिचान, विकास र समृद्धिका लागि महत्वपूर्ण टेवा पु¥याउने बताए । शिवपार्वतीको मुर्ति निर्माणको यो अभियानमा साथ र सहयोग पु¥याउन आग्रह गर्दै उनले यसले पर्वत जिल्लालाई संसारभर चिनाउने काम गर्ने पनि धारणा राखे । उनले धर्म मान्छेको आस्था, विश्वास र सत्कर्म भएको र त्यसको माध्यमबाट धेरै राम्रा काम गर्न सकिने पनि बताए ।
कुश्मामा भएको गुप्तेश्वर बिराट कोटीहोम महायज्ञ भएकै कारण काँग्रेसले जेठ १ गतेदेखि ११ गतेसम्म जागरण कार्यक्रम स्थगित गरेको पनि उनले जानकारी दिए । ‘कोटिहोम महायज्ञ सफल पारी त्यसपछिका उद्देश्य पुरा गर्न म सबैलाई सहयोग गर्न आग्रह गर्दछु’ उनले भने–‘नेपाली काँग्रेसले देशभर जागरण अभियान चलिरहदा पर्वतमा महायज्ञको अवधिभर जागरण अभियानलाई स्थगित गरेर सहयोग गरेका छौ ।’ कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)समेतको उपस्थिति रहेको थियो ।
सत्ताको राजनीतिले हिन्दु धर्म चेपुवामा : काँग्रेस नेता जोशी


