
पर्वत, बैशाख २५–नेपाली काँग्रेस पर्वतले मुलुकमा सरकारको असाबधानीका कारण फैलिइरहेको कोरोना महामारीप्रति चिन्ता ब्यक्त गरेको छ । यस्तो अवस्थामा पनि सरकारले गर्नुपर्ने तयारी र संक्रमित नागरिकलाई उपचार नगरी उम्कने प्रयासमात्रै गरेको भन्दै नागरिकप्रति जिम्मेबार बन्न पर्वत काँग्रेसले सरकारलाई आग्रह गरेको छ । पछिल्लो केहीदिन यता पर्वतमा पनि कोभिड–१९ का बिरामी बढेको भन्दै तत्काल कोरोना अस्पताल बनाएर उपचारमा कुनै कसर बाँकी नराख्न पर्वत काँग्रेसले माग गरेको छ ।
पर्वत काँग्रेसले आफ्नो निर्माणाधिन अवस्थामा रहेको पार्टी कार्यालयलाई समेत कोरोना अस्पतालका रुपमा प्रयोग गर्न दिन सकिने भन्दै पर्वतबासीको स्वास्थ्यप्रति सजक र जिम्मेबार बन्न आग्रह गरेको छ । पर्वत काँग्रेसले भवनको आवश्यक भएमा आफ्नो पार्टी कार्यालय कोरोना अस्पतालका रुपमा प्रयोग गर्न आग्रह गरेको भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिए । ‘पर्वत काँग्रेसको पार्टी कार्यालय निर्माण पुरा हुने अवस्थामा छ, सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो लागि पर्वतबासीको स्वास्थ्य हो, त्यसैले यो कोरोना महामारीमा आवश्यक पर्छ भने भवनलाई कोरोना अस्पतालका रुपमा प्रयोग गर्न दिन तयार छौ’ नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक समेत रहेका जोशीले भने–‘प्रमुख जिल्ला अधिकारीसंग कुरा गरेको छु, आवश्यक पर्छ भने पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउनुस् भनेको छु ।’
जोशीले जिल्लामा सरकारी स्रोतसाधनको अभाव रहेको हो भने नेपाली काँग्रेसले नै अक्सिजनसहित अन्य सामाग्री र उपकरणको ब्यवस्था गरिदिने पनि बताए । ‘सरकारी स्रोतसाधन छ भने ठिक छ, छैन भने कोभिड अस्पतालमा आवश्यक पर्ने सामाग्रीको ब्यवस्था पनि हामी नै गरिदिन्छौ’ उनले भने । जोशीले चिकित्सक र स्वास्थ्यकर्मीको ब्यवस्थाबाहेक अन्य ब्यवस्था गर्ने पनि जानकारी दिए । ‘आम नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौ, नागरिकमैत्री पार्टीको हिसाबले पार्टीको भवनमा कार्यालय नसर्दै कोरोना अस्पतालका लागि भवन दिन हामी तयार छौ’ जोशीले भने । नेपाली काँग्रेसले निर्माण गरेको भवनमा अहिले दुई वटा ठुला सभाहल र पाँच वटा कोठा रहेका छन् । उक्त भवनमा कम्तीमा पनि ५० वटा बेड राखेर कोरोना संक्रकित बिरामीको उपचार गर्न सकिन्छ । सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सबैलाई सहज हुने जोशीले बताए । पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसको भवनमा बनाइएको अस्थायी अस्पताल हटाएपछि अहिलेसम्म कोरोना अस्पताल सञ्चालनमा आउन सकेको छैन । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले काँग्रेसले आफ्नो स्वार्थ भन्दा पनि नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेबारीबोध देखाएर नयाँ भवनमा कार्यालय नसार्दै आवश्यक परेमा कोरोना अस्पताल बनाउन दिने बताए ।
पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति


