पर्वत, पुस २९–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली बिहिबार पर्वत आउने निश्चित भएको छ । नेपाली काँग्रेसका तत्कालिन क्षेत्रीय सभापति हरिदत्त तिवारीको निधन भएको १८ औ स्मृत्ति दिवसको सन्दर्भ पारेर हरिदत्त तिवारी स्मृत्ति प्रतिष्ठानले फलेबास–३ शंकरपोखरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि सभापति देउवा पर्वत आउन लागेका हुन ।
नेपाली काँग्रेसका तत्कालिन क्षेत्रीय सभापति हरिदत्त तिवारीलाई तत्कालिन बिद्रोही नेकपा माओबादीले २०६० माघ १ गते हत्या गरेका थिए । पुस मसान्तीको राती आक्रमणमा परेका तिवारीको माघ १ गते अत्याधिक रक्तश्रापका कारण ज्यान गएको थियो । तिवारीको हत्यापछि सरकारले शहिद घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवा आउने भएपछि कार्यक्रम भब्यरुपमा गर्ने तयारी भएको छ । प्रतिष्ठानले बुधबार कुश्मामा पत्रकार सम्मेलन गरी सबै तयारी पुरा भएको जनाएको छ ।
नेपाली काँग्रेसका महासमिति सदस्य एवम् शहिद हरिदत्त तिवारीका पुत्र गंगाधर तिवारीले आफ्नो बुवा नेपाली काँग्रेसको तर्फबाट राजनीति गरेपनि सधै सबैलाई सम्मान गर्ने ब्यक्ति भएको बताए । ‘आफु नेपाली काँग्रेसको तर्फबाट राजनीति गरेपनि कहिल्यैपनि कसैलाई हानी हुने काम गर्नुभएन, सबैलाई समान रुपमा हेर्नुभयो, राजनीतिलाई सामाजिक भावमा मात्रै हेर्नुभयो’ शहिदपुत्र तिवारीले भने । पार्टीको क्षेत्रीय सभापतिको पदमै रहेका कारण बाबुको हत्या भएपछि बाबुको सपना पुरा गर्न पनि आफु राजनीतिमा प्रवेश गरेको तिवारीले बताए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले ०६० साल पुसको मसान्तीको अघिल्लो दिनमात्रै हरिदत्त तिवारीसँग आफुसँगै एउटै कोठामा सुतेको र मसान्तीको दिन घर जान्छु भनेर हिँडेको बताए । ‘पुस मसान्तीको दिन भोली माघे संक्रान्ती पर्व आज घर जान्छु भनेर बिदा भएर जानुभयो, त्यो नै मेरो उहाँसँगको अन्तिम भेट रहेछ’ सभापति भुसालले भने । उनले हरिदत्त तिवारी पार्टीमा एक कुशल नेता मात्र नभई समाजका निम्ति सारा लोकतन्त्रका निम्ति खम्बा भएकोले केन्द्रीय सभापतिले स्मृत्ति दिवसमा आउने समय दिएको बताए ।
नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता बिद्धान गुरुङले हरिदत्त तिवारी नेपाली काँग्रेसमा रहँदै गर्दा पनि सधै सामाजिक भावनामा अभिप्रेरित ब्यक्ति भएको र बिहिबार स्मृति दिवसमा उपस्थित भइदिनका लागि सबैलाई आग्रह गरे । शेरबहादुर देउवासँगै काँग्रेसका नेता एवम् संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय बिभागका प्रमुख अर्जुनप्रसाद जोशी बिहान साढे ११ बजे शंकरपोखरीमा हेलिकप्टरमार्फत आउने कार्यक्रम तय भएको नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए ।


