spot_img

शालिजामा बन्यो आलु भण्डारण भवन, जलजला गाउँपालिकाका अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत, मंसिर २४–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला–६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले कृषिको उत्पादन र व्यवसायिकरण नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको भन्दै जलजलाका विभिन्न वडाहरूलाई उत्पादन विशेष पकेट क्षेत्रका रूपमा पहिचान गरि सोही अनुसार विकास गर्ने रणनीति अख्तियार गरिएको जानकारी दिए । अध्यक्ष मल्लले जलजला धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको वताउँदै फलफूल र तरकारीमा समेत यो भूमि मुलुककै अति विशिष्ट मौलिक पहिचान बोकेको क्षेत्र भएको दाबी गरे ।
मुलुकमा भएको राजनीतिक परिवर्तनले मात्रै जनताको जीवनस्तर माथि उठ्न नसक्ने वताउँदै गाउँको आर्थिक सामाजिक रुपान्तरणका लागि सबै गाउँपालिकाबासीले कुनै न कुनै उत्पादन र उद्यम गर्नुपर्ने कुरामा जोड दिए । उनले समुदायको विकासको लागि राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर सबैमा एकता र सहकार्यको जरुरी भएको वताउँदै व्यक्तिगत स्वार्थ त्यागेर सामुहिक स्वार्थमा क्रियाशील हुन सबै जलजलाबासीहरूमा आग्रह गरे । ‘राजनीति पाँच बर्षमा एकदिन गर्ने हो, अरू दिन एक भएर विकास र समृद्धिका लागि जुटौँ’ अध्यक्ष मल्लले भने ।
अध्यक्ष मल्लले स्थानीय सरकारलाई केन्द्रबाट अहिले जम्माजम्मी देशभर सात प्रतिशत बजेट आउने गरेको गुनासो गर्दै सीमित बजेटले जनताका असिमित आवश्यकता सम्बोधन गर्न नसकिएको दावी गरे । उनले जनताको अपेक्षा र चाहना अनुसार सरकारले सेवा, सुविधा र अवसर दिन नसकेको कारण यो व्यवस्थाप्रतिनै जनताको विश्वास गुम्दै गएको वताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने हो भने स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने र केन्द्र र प्रदेश सरकारलाई अझै विकेन्द्रित गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालयका वागवानी शाखाका निर्देशक रामबहादुर केसीले नेपालमा आठ अर्बको आलु आयात हुने गरेको जानकारी दिँदै आलुको आयात रोक्न र मुलुकलाई आलुबाट आत्मनिर्भर बनाउन आलुको पकेट क्षेत्र विस्तार गर्न जरूरी भएको वताए । निर्देशक केसीले शालिजामा आलु भण्डारण भवन निर्माण गर्नुमात्र ठूलो कुरा नभएको भन्दै यो भवनको उपयोग गरेर यहाँको आर्थिक समृद्धि माथि उकास्न यहाँका कृषकहरूलाई निरन्तर उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले कृषिको व्यवसायीकरणको लागि स्थानीय सरकारको सहयोग आवश्यकता रहेको वताए ।
कार्यक्रममा लुम्ले कृषि अनुसन्धान निर्देशनालयका प्रमुख डा.कालीकाप्रसाद उपाध्याय, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, जलजला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष होमबहादुर फकामी, जलजलाका राजनीतिक सल्लाहकार यम शर्मा पौडेल, जलजला गाउँपालिकाका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ललगायतले बोललेका थिए ।
ताजा तरकारी विउ भण्डारण समूहका अध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष मीनबहादुर पूर्जा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन निर्देशनालयका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पूर्वअध्यक्ष ओमप्रसाद घायललगायतको उपस्थिति रहेको थियो ।

spot_img

भर्खरै