spot_img

नेकपा सरकारबाट जनताले गरेको आशा निराशामा परिणत भयो : काँग्रेस नेता मल्ल

पर्वत, मंसिर २२–नेपाली काँग्रेस जलजलाले हरेक टोलमा समिति गठन गर्ने भएको छ । टोलटोलका जनतासँग सुखदुःखमा सँगै रहने प्रतिबद्धतासहित पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्ने, नराम्रा कामको खबरदारी गर्ने र हरेक घरपरिवारमा आयआर्जन र उत्पादानसँग जोड्ने भएको हो । काँग्रेस जलजलाले आज (सोमबार) जलजला–४ बाट अभियान थालेको जनाएको छ । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष उपस्थितिमा सोमबार जलजला–४ मा भएको विशेष बैठकले वडा नम्बर ४ बाट अभियान सञ्चालन गरेको जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेतासमेत रहेका मल्लले अव हरेक जनतालाई नेपाली काँग्रेसलाई उत्पादनसँग जोड्न प्रेरित गर्ने बताए । ‘अव सधैभरी जनता पार्टीको पछि मात्रै हिँड्ने होइन, पार्टीले उत्पादनसँग जोड्न, हरेक जनतालाई आयआर्जनमा जोड्नका लागि प्रेरित गर्नुपर्छ, अव हामीले त्यही अभियान थाल्छौ’ मल्लले भने । आजको बैठकले टोलटोलमा टोल कार्यसमिति गठन गर्ने निर्णय गरेको जानकारी दिदै मल्लले नौ वटै वडामा अभियान थालनी भएको जानकारी दिए । बैठकले हरेक टोलटोलमा पार्टी परिचालन हुने र त्यहाँ भएका समस्यालाई समाधान गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण पु¥याउने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले जलजला वडा नम्बर ४ मा नेपाली काँग्रेसको वडा कार्यालय भवन निर्माण गर्ने निर्णय पनि गरेको छ । भवन निर्माणका लागि नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पाँच आना जग्गा प्रदान गर्ने भएका छन् । मल्लले आफ्नो झण्डै १० लाख मुल्य बराबरको जग्गा निशुल्क रुपमा नेपाली काँग्रेस जलजला ४ वडा कार्यसमितिको भवन निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।
काँग्रेस नेता मल्लले यसअघि नेपाली काँग्रेस जलजला गाउँपालिका कार्य समितिको भवनका लागि गाउँपालिकाबाट २० लाख र आफ्नो ब्यक्तिगत तर्फबाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका छन् । मल्लकै पहलमा मोहनचोकमा मोहनबहादुर मल्ल परिवारबाट झण्डै ९० लाख बराबरको जग्गा नेपाली काँग्रेस जलजलाका लागि प्राप्त भएको थियो । डेढ करोड लगानीमा उक्त जग्गामा निर्माण हुन लागेको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । त्यसैगरी मल्लले नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय भवन (बिपी स्मृति भवन) निर्माणका लागि गाउँपालिकाबाट २० लाख रुपैयाँ र आफ्नो ब्यक्तिगत तर्फबाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै मल्लले काँग्रेसका नेताहरु विवाद लिएर गाउँ नजान चेतावनी दिएका छन् । अधिवेशनको बेला मात्रै गाउँ जाने तर अन्य बेलामा गाउँका कार्यकर्ता र जनताको अवस्था कहिल्यै नबुझ्ने परिपार्टी बढेको भन्दै मल्लले सबै नेताहरु पदको मात्रै कुरा नगरी जनता माझ जाने, जनताका आधारभुत समस्या सम्बोधन गर्न पहल गर्ने, वडावडामा पुगेर जनताका दुखसुखलाई बाढ्ने काममा क्रियाशिल हुनुपर्नेमा जोड दिए । काँग्रेस नेता एवम् गाउँपालिका अध्यक्ष मल्लले अहिले नेकपा सरकारबाट जनताले धेरै आशा राखेपनि केपी ओली नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको दाबी गरे । कम्युनिष्टले आफुहरु सर्बहारा भनेर प्रचार गर्ने तर कम्युनिष्टले गरिब जनताको मुद्धालाई कहिल्यै पनि सम्बोधन नगर्ने गरेको मल्लले बताए । जनता अहिले नेकपा सरकारबाट निराश भएको दाबी गर्दै मल्लले जनतालाई निर्वाचनमा नेकपाले भ्रम पैदा गरेपनि अहिले काम गर्न नसकेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् जलजला वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्लले नेता र जनप्रतिनिधि हरेक जनताको सुखदुखमा जोडिनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस जलजला ४ का सभापति मेघनाथ पौडेलको अध्यक्षता र सचिव प्रकाश मल्लको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय नेता खड्कराज कार्की, लोकबहादुर जिसी, डम्बरबहादुर श्रेष्ठलगायतले बोलेका थिए । बैठकले श्रेष्ठलाई सोमबारै वडा कार्यसमितिमा मनोनित गरेको हो । श्रेष्ठ यसअघि नेकपा भएपनि नेकपाले कुनैपनि जनजिवीकाका काम गर्न नसकेको भन्दै नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । ‘कम्युनिष्टहरु भाषण मात्रै गर्छन तर काम गर्दैनन’ श्रेष्ठले भने ।

spot_img

भर्खरै