पर्वत, भदौ १–कुश्मा–४ स्थित एकताचोकमा निर्माण भइरहेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी भवन)को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवन निर्माण समितिले सोमबार पत्रकार सम्मेलन गरी हालसम्मको निर्माणको अवस्था, बोलकबोल रकम, हालसम्म खातामा जम्मा भएको, जम्मा हुन बाँकी र खर्चको मोटामोटी बिबरण सार्वजनिक गरेको हो ।
भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आगामी मंसिरसम्ममा सबै निर्माणकार्य सम्पन्न हुनेगरी काम भइरहेको पनि बताए । गत मंसिरदेखि निर्माण सुरु गरिएको भवनको कोरोना महामारीका कारण लकडाउनको अवधिमा काम गर्न नपाउँदा तोकिएको समयमा निर्माण पुरा हुन नपाएको पनि बताए । असारमा निर्माण पुरा हुने तोकिएको भएपनि अहिले निरन्तर काम भइरहेकोले आगामी मंसिरसम्ममा निर्माण कार्य पुरा हुने संयोजक जोशीको भनाई रहेको छ ।
पूर्वसांसदसमेत रहेका जोशीले सुविधासम्पन्न भवनमा सभापतिसहित जिल्ला पदाधिकारीको कार्यकक्ष, हरेक पदाधिकारीलाई ल्यापटपको व्यवस्थासहित प्रविधिमैत्री, भातृ तथा शुभेच्छुक संस्थाको प्रमुखलाई एउटा कुर्ची, टेबल र दराजको ब्यवस्था मिलाइने जानकारी दिए । साढे दुई तले भवनमा दुई वटा सभाहल र छ वटा कोठा रहनेछ । ‘बर्षौदेखि आफ्नै भवन नहुँदा भाडाको घरमा बस्दै आएको कार्यालय अव मंसिरदेखि नयाँ सुविधासम्पन्न भवनमा सर्दैछ’ जोशीले भने । उनले यो भवन निर्माणले गतिलिएकै सबै नेता, कार्यकर्ता र शुभेच्छुकको माया, साथ सहयोगले भएको भन्दै जोशीले बोलकबोल गरेका सबैलाई खातामा रकम जम्मा गरिदिनका लागि अनुरोध गरे ।
हालसम्म ६५ लाख रुपैयाँ संकलन भएको र बोलकबोल गरेको एक करोड ११ लाख रुपैयाँ खातामा जम्मा हुन बाँकी रहेको जोशीले जानकारी दिए । उनले भवन निर्माणको आयब्ययलाई पारदर्शी बनाउनका लागि आम्दानी र खर्चलाई बैंकमार्फत नै जम्मा गर्ने र चेक काट्ने गरिएको, इट्टा, रड, सिमेन्ट, ढुंगा, गिट्टी, बालुवा, कामदारसबै अन्यत्र भन्दा सस्तो मुल्यमा पाएको बताए । अहिले साढे दुई तला भएपनि भवनको मापदण्ड १०÷१२ तलासम्म पनि धान्न सक्नेगरी जगबाटै निर्माण गरिएको र त्यस्तै प्रकारको रड, पिल्लर खडा गरिएको जोशीले बताए ।
‘अव मंसिरसम्ममा भवन सबै निर्माण पुरा हुन्छ, त्यसैले बोलकबोल गरेका सबैलाई खातामा जम्मा गर्नका लागि आग्रह गर्दछु’ जोशीले भने–‘बोलकबोल गरेकालाई पनि बिपि स्मृति भवनमा सहयोग गर्न इच्छा भएमा सहयोग गर्न आग्रह गर्दछु ।’ बिपि स्मृति भवन निर्माणका लागि दुई करोड एक लाखको स्टीमेट तयार भएको छ । फर्निचर, ल्याबटप, सिसिक्यामेरा, पर्खाल, गेटलगायतको संरचना निर्माणको लागि थप लगानी आवश्यक पर्नेछ ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टी भवन निर्माणजस्तो काममा केन्द्रीय सदस्य जोशी नै संयोजक भएर खट्नुभएकोमा सबै नेता, कार्यकर्ता र शुभेच्छुकमा उत्साह ल्याएको बताए । उनले एक बर्षकै अवधिमा भवन निर्माण पुरा हुन लागेकोमा खुशी ब्यक्त गर्दै साथ र सहयोग गर्ने सबैलाई धन्यबाद दिए । जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य लोकनाथ आचार्यले भवन निर्माण गर्नुपर्छ र त्यसका लागि कसैले पनि अवरोध गर्न हुँदैन भनेर आफुले पहिलेदेखि भन्दै आएको बताए ।
भवन निर्माणका लागि सबैभन्दा बढी २० लाख रुपैयाँ जलजला गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठलगायतका नेता राष्ट्रिय विभुति भएकोले उनीहरुको नाममा निर्माण हुने भवनका लागि सहयोग गर्नुपर्छ भनेर नै जलजला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । मल्ल भवन निर्माण समितिका कोषाध्यक्षसमेत हुन । उनले ब्यक्तिगत रुपमा पाँच लाख ५५ हजार रुपैयाँ भवनका लागि सहयोग दिने घोषणा पनि गरेका छन् । उनले भवन निर्माणका लागि सहयोग, साथ समर्थन गर्न देश, बिदेशमा रहेका सबैलाई आग्रह पनि गरे ।
जलजला गाउँपालिकापछि सबैभन्दा बढी सहयोग गर्नेमा भवन निर्माण समिति अन्र्तगत आर्थिक उपसमितिका संयोजक एवम् महासमिति सदस्य गंगाधर तिवारी रहेका छन् । आर्थिक उपसमिति सदस्य तिवारीले अहिले खर्चको मोटामोटी खर्च सार्वजनिक गरेपनि अर्को पत्रकार सम्मेलनमा सबै आयब्यय खुलाएर सार्वजनिक गर्ने जानकारी दिए । ‘कसरी पारदर्शी गराउन सकिन्छ भनेर लागेका छौ’ उनले भने ।
त्यस्तै नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेकी काँग्रेसका युवा नेतृ एवम् बिपि स्मृति भवन निर्माण प्रचारप्रसार उपसमिति संयोजक राधाकुमारी कुँवर क्षेत्रीले सहयोग गर्ने, बोलकबोल गर्ने सबैको फोटोसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताइन । उनले भवन निर्माणको अवस्थाको बिषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएकोमा सम्पूर्ण पत्रकारहरुलाई पनि धन्यबाद दिइन । काँग्रेस नेतृ क्षेत्रीले बिपि स्मृति भवन कुनै ब्यक्तिको नभई सबै लोकतन्त्रबादीहरुको पहिचान भएकोले यो अभियानमा साथ र सहयोग गर्न पनि आग्रह गरिन ।
भवन निर्माण समितिका सचिवालय ब्यवस्थापन संयोजक शिवप्रसाद सुबेदीले भवन निर्माणका क्रममा खरिद गर्ने सामाग्री बजारमुल्य र अन्यत्र चलेको भन्दा सस्तो गरी परिचालन गरिएको जानकारी दिए ।







