पर्वत, साउन २८–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पुनः स्वास्थ्य सामाग्री बितरण गरेका छन् । सबैभन्दा बढी सेवाग्राही जम्मा हुने कार्यालय, संघसंस्था, पार्टी कार्यालय, पालिकाहरुमा सेनीटाइजरसहितको सेनीप्रेस बितरण गरेका हुन । अहिले धेरैजसो कार्यालय, बैंक तथा बित्तिय संस्था, संघसंस्थामा राखिएको सेनीटाइजर धेरैले हातले छुदा अर्को मानिसमा कोरोना संक्रमण सर्नसक्ने जोखिम भएका कारण आफुले सबैभन्दा बढी सेवाग्राही जम्मा हुने केही मुख्य कार्यालयहरु, संघसंस्थामा सेनीप्रेस बितरण गरेको अध्यक्ष मल्लले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, ससस्त्र प्रहरी चण्डिका गण, नेपाल पत्रकार महासंघ पर्वतलगायतका कार्यालय, संघसंस्थागरी ब्यक्तिगत रुपमा ५४ हजार रुपैयाँ बराबरको १८ वटा सेनीप्रेस बितरण गरेको मल्लले बताए । ‘भिडभाडमा हरेकले हातले समातेर सेनीटाइजर प्रयोग गर्दा संक्रमण एकबाट अर्कोमा सर्ने सम्भावना बढी भएका कारण खुट्टाले अठ्याएपछि हातमा सेनीटाइजर खस्नेगरी निर्माण भएको सेनीप्रेसको आवश्यकता देखेर बितरण गरेको हँु’ उनले भने ।
यसअघि मल्लले जलजला गाउँपालिका, कुश्मा नगरपालिकाको बिपत् कोष, नेपाली काँग्रेस महाशिला, फलेबासको बिपत्कोषमा नगद सहयोग, विभिन्न पालिका तथा संघसंस्थामा स्वास्थ्यसामाग्री गरी ब्यक्तिगत रुपमा आठ लाख रुपैयाँभन्दा बढी नगद र स्वास्थ्यसामाग्री बितरण गरिसकेका छन् । विपत्को बेलामा आफुले सकेसम्म सहयोगको दायरालाई फराकिलो बनाएर लागेको मल्लले बताए । त्यसैगरी मल्लकै पहलमा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवासँग पनि स्वास्थ्य सामाग्री ल्याएर पर्वत, बागलुङ र म्याग्दीमा बितरण गरेका थिए ।


