पर्वत, फागुन १९–जलजला गाउँपालिकाले आयोजना गरेको मेलमिलापसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका बासिन्दाले निष्पक्ष न्याय दिलाउने उद्देश्यले न्यायिक समिति र मेलमिलापकर्तालाई कानुनी ज्ञानमा दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको आठ दिने तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले तालिमले न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्तालाई कानुनी ज्ञानमा दक्ष बनाएको बताए । उनले गाउँपालिकाका सबै बासिन्दालाई निष्पक्ष रुपमा न्याय दिलाउने उद्देश्यले तालिमको आयोजना गरिएको र तालिमले उद्देश्य पुरा गरेको धारणा राखे । तालिमबाट दक्ष मेलमिलापकर्ताहरु तयार भएकोमा खुशी ब्यक्त गर्दै अध्यक्ष मल्लले आ–आफ्नो समाज, वडा तहमा विवादरहित समाज बनाउन भुमिका खेल्न तालिममा सहभागी सबैलाई आग्रह गरे ।
जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले तालिमबाट धेरै मात्रामा कानुनी ज्ञान हासिल गर्न सहयोग पुगेको बताइन । जलजला गाउँपालिकाको न्यायिक समितिको संयोजक समेत रहेकी पुनले जलजला गाउँपालिकाले पहिलो पटक सन्चालन गरेको मेलमिलाप सम्बन्धि तालिमबाट न्यायिक समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरिन । उनले समाजमा सकारात्मक भुमिका खेल्दै साझा ब्यक्ति बनेर असल मेलमिलापकर्ताको भुमिका खेल्न पनि सबैलाई आग्रह गरिन । जलजला गाउँपालिकाका उपाध्यक्ष एबम न्यायिक समिति संयोजक पुनको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख प्रशिक्षक एवम् पूर्व मुख्य न्यायाधिश सुरेन्द्रबिर सिंह बस्न्यात, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, जलजला गाउँपालिकाका कानुनी सल्लाहकार हरिनारायण रेग्मी, न्यायिक समितिका सदस्य शशी शर्मालगायतले तालिमबाट स्व–परिबर्तन संगै समाबेशी, समानतासहितको समाज बनाउन तालिम फलदायी भएको र तालिममा सिकेका कुराहरू आफ्नो जिवनमा लागू गरेमा सबैलाई फाइदा हुने बताएका थिए ।
कार्यक्रममा तालिममा सहभागी तुलसी रेग्मी पौडेल, बुद्धिप्रसाद सुबेदीले पनि आफ्नो भनाई राखेका थिए । तालिममा जलजला गाउँपालिकाको न्यायिक समितीका पदाधिकारी, कर्मचारी, नौ वटै वडाका वडा अध्यक्षहरु, हरेक वडाबाट दुई÷दुई जना गरि ३६ जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष मल्लले उपाध्यक्ष पुनलाई सपथ गराएका थिए । सोही कार्यक्रममा उपाध्यक्ष सीमा गर्बुजा पुनले सबै सहभागीलाई सामुहिक सपथ गराएकी थिईन । तालिममा पुर्वमुख्य न्यायाधीश सुरेन्द्र वीर सिंह बस्न्यात, पुर्बन्यायाधीश नारायण दाहाल, पर्वत जिल्ला अदालतका न्यायाधिश सुर्यबहादुर थापा, पर्वत बारका उपाध्यक्ष एवम् जलजला गाउँपालिकाका कानुनी सल्लाहकार हरिनारायण रेग्मीलगायतले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमको सञ्चालन गाउँपालिकाका कर्मचारी देवराज पुरीले गरेका थिए ।



