पर्वत, फागुन १९–मोदी गाउँपालिकाको छैठौ गाउँसभा सोमबार सम्पन्न भएको छ । आइतबार र सोमबार चलेको गाउँसभाले महत्वपूर्ण तीन वटा बिधेयक पारित गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीकाअनुसार नगर प्रहरी बिधेयक, स्थानीय सुशासन बिधेयक र स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेयक बहुमतले पारित गरेको हो ।
‘मोदी गाउँपालिकाको आज सम्पन्न गाउँसभाले नगर प्रहरी बिधेयक, स्थानीय सुशासन बिधेयक र स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेयक बहुमतले पारित गरेको छ’ प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले भने । संविधानले प्रदत्त गरेको अधिकार बमोजीम गाउँपालिकामा आवश्यक पर्ने नगर प्रहरी राख्न मिल्ने ब्यवस्था सहित नगर प्रहरी विधेयक गाउँ सभाले पारित गरेको मोदी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष बिमल लामिछानेले जानकारी दिए ।
लामिछानेकाअनुसार गाउँपालिकाको दैनिक प्रशासनलाई ब्यवस्थित बनाउँदै सेवाग्राही मैत्री प्रशासन संयन्त्र सञ्चालन गर्नका लागि गाउँसभाले स्थानीय शुसासन विधेयक पनि पारित गरेको हो । त्यस्तै गाउँसभाले स्थानीय वातावरण तथा प्राकृतिक श्रोतहरुको संरक्षणका लागि समेत विधेयक ल्याएको उनले जानकारी दिए । गाउँपालिका भित्रका प्राकृतिक श्रोतहरुको यदोचित ब्यवस्थापनमा थप सहज हुने उनले विश्वास ब्यक्त गरे ।
छैटौ गाउँ सभाले चालु आर्थिक बर्षका लागि संसोधित बजेट समेत पास गरेको छ । केही निर्माण हुन नसक्ने योजनाहरुको रकमान्तर र केही योजनामा रकम थपघट गरिएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए । गाउँ सभाले आगामी १० बर्षका लागि गाउँ विकासको लागि आवद्यिक योजना समेत निर्माण गर्ने निर्णय गरेको छ ।
मोदीमा सकियो छैठौ गाउँसभा, तीन बिधेयक पारित


