
पर्वत, माघ १३–धौलागिरीमै पहिलो पटक पर्वतको कुश्मामा अत्याधुनिक हेल्थ क्लब सञ्चालनमा आएको छ । यहाँका तीन युवाले करोडको लगानीमा क्लब सञ्चालनमा ल्याएका हुन । मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालनमा ल्याएका हुन ।
क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा.प्रमोदकुमार मण्डलले जानकारी दिए । क्लवले पत्रकार सम्मेलन गरी व्यायामका विविध बिषयमा जानकारी गराएको हो । डा.मण्डलले कुश्मामा सरुवा रोग भन्दा दिर्घरोगका बिरामी बढेको भन्दै हेल्थ क्लबले नियन्त्रण गर्ने दाबी गरे । ‘कुश्मामा हेल्थ क्लब आवश्यक थियो, सञ्चालनमा आएको छ, यसले दिर्घरोगीहरु उच्च रक्तचाप, सुगर, कोल्डस्टोरका बिरामीलाई निकै फाइदा मिल्नेछ’ उनले भने ।
उनले दिर्घरोगीसँगै कुलतमा फसेका युवालाई पनि सुधार गर्ने मुख्य लक्ष्य रहेको पनि जानकारी दिए । नियमित केल्थ क्लब आउने ब्यक्तिलाई दिर्घरोग लाग्नै नपाउने उनको दाबी थियो । ‘रोग लागिसकेपछि अस्पताल धाउनुको सट्टा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुस् भन्ने हाम्रो जोड हो’ डा.मण्डलले भने ।
क्लवबाट नियमित सेवा लिनका लागि तीन हजार रूपैयाँ भर्ना शुल्क र दुईहजार मासिक शुल्क तोकिएको भएपनि एक बर्षको प्याकेज लिँदा २१ हजारमा थप तीनमहिना सेवा लिन पाइने व्यवस्था गरिएको क्लवका संचालक सुरेश केसीले जानकारी दिए । ‘क्लवमा जोडी, विद्यार्थी र नियमित आउनेलाई प्याकेजमा सहुलियत दिने व्यवस्था गरिएको छ’ केसीले भने ।
पछिल्लो समय सरूवा रोग भन्दा दीर्घ रोगीको संख्या बढ्दै गएको अवस्थामा सुगर, प्रेसर, कोल्डस्टोर लगायतका रोगहरुको समाधानका लागि यो हेल्थ क्लव कोशेढुङ्गा सावित हुने कुश्मा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चित्रकला शर्माले वताइन । क्लबमा सुरेश केसी, डा प्रमोदकुमार मण्डल र नारायण शर्माको संयुक्त लगानी रहेको छ । उक्त जिम क्लवको यही माघ १६ गतेदेखि ‘मिस्टर वल्ड’ महेश महर्जनको उपस्थितिमा सञ्चालनमा आउने भएको छ । कार्यक्रमको सञ्चालन युवा गोकुल चापागाईले गरेका थिए ।
व्यायामका लागि कुश्मामा खुल्यो अत्याधुनिक हेल्थ क्लव


