पर्वत, माघ १३–विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पर्वतको हम्पालमा अवस्थित पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म आयोजना गरिने उक्त विराट ज्ञान महायज्ञका लागि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको उपस्थितिमा आइतबार गठन गरिएको समितिको सहअध्यक्षमा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष दमबहादुर पुन रहनुभएको छ भने समितिको उपाध्यक्षमा तीनवटै गाउँपालिकाका उपाध्यक्षहरूलाई पदेन उपाध्यक्ष तोकिएको छ । साथै समितिका अन्य दुई उपाध्यक्षमा राजुप्रसाद आचार्य र कृष्णप्रसाद पराजुली चयन हुनुभएको छ ।
त्यसैगरि समितिको महासचिवमा जगन्नाथ आचार्य, सचिवमा नारायणदत्त सापकोटा, नारायण मल्ल, कृष्णप्रसाद रेग्मी र गोपाल आचार्य, कोषाध्यक्षमा यम शर्मा पौडेल र सहकोषाध्यक्षमा पूर्णहरि रेग्मी रहनुभएको छ । त्यसैगरि समितिको सदस्यहरुमा बल ब पुन, होमबहादुर पुन, घनश्याम पौडेल र पूर्णबहादुर पुन रहनुभएको छ । बैठकले जलजला गाउँ पालिका, मोदी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका सबै वडाअध्यक्षहरू, गाउँकार्यपालिकाका सदस्यहरू र वडासदस्यहरूलाई पदेन सदस्य तोकेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरि जलजला र सिंगो पर्वतको आर्थिक समृद्धिमा टेवा पु¥याउने अभियान बोकेर हिँडेका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाका परिकल्पनाकार समेत हुन । अध्यक्ष मल्लले आफू शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको वताए । हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालाञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । वैशाखमा आयोजना गर्न लागिएको महायज्ञमा आउने श्रद्धालु भक्तजनहरुलाई आवागमनमा सहजता प्रदान गर्न हम्पालसम्म मोटरबाटो र यज्ञस्थलमा बिजुलीको व्यवस्था जलजला गाउँपालिकाले गर्ने प्रतिबद्धता समेत अध्यक्ष मल्लले गरेका छन् ।
हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।
हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।
समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको यो क्षेत्र प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सिमसार क्षेत्र पनि हो । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दावी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भृमिमै तपस्या गरेका थिए । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।
मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि निरकण्ठेश्वर शंकर भगवानको मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् ।
अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेका डा.जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरूमा पाइन्छ । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ ।
कालाञ्जरबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरू अवलोकन गर्न सकिन्छ । यस्तै, सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ । उक्त ठाउँबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्ला भौगोलिक क्षेत्रहरू देख्न सकिन्छ । पर्यटकहरूलाई लोभ्याउने अर्को विशेषता पाखैभरि फुल्ने लालीगुराँस पनि हुन् । मानवीय स्वास्थ्यको लागि उपयुक्त मानिने सयौँ थरी जडीबुटीहरू उक्त ठाउँमा पाइने जलजला गाउँपालिकाका सल्लाहकार तथा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष यम शर्मा पौडेलले बताए ।


