पर्वत, माघ ११–सुन्तला गाउँका रुपमा चिनिएको जलजला गाउँपालिका वडा नम्बर १ बासखर्कमा उत्पादित सुन्तलालाई बेमौसममा बिक्री बितरण गर्नका लागि शितभण्डार सञ्चालनमा ल्याइएको छ । मौसममा भन्दा बेमौसममा बजारमा पठाएर बढी मुनाफा लिने उद्देश्यले नमुना शितभण्डार सञ्चालनमा आएको हो । कृषि ज्ञान केन्द्र, सुन्तला किसान, जलजला गाउँपालिका, वडा कार्यालय, सहकारीलगायतको लगानीमा ७८ लाख लगानीमा शितभण्डार सञ्चालनमा ल्याइएको बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । उक्त शितभण्डारको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनले राज्यको बजेट बास्तविक किसानलाई भन्दा कार्यकर्ता र झोले किसानको हातमा पुगेको वताए ।
‘सरकारको बजेट बास्तविक उद्यमी र किसानहरुले भन्दा पनि झोले कार्यकर्ताहरूले पाएका छन, नक्कली किसानलाई निरुत्साहित गरेर गरिखाने किसानलाई दिउँ, मुलुक समृद्ध बन्छ’ उनले भने । उनले बजेटलाई वितरणमुखी भन्दा किसानमुखी बनाउन सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराए । देशका हरेक युवाहरू रोजगारी खोज्न विदेश पलायन भएको वेला बाँसखर्कका युवाहरूले संचालन गरेको कृषि उद्यमलाई राज्यले प्रोत्साहन गर्नुपर्ने कुरामा उनले जोड दिए । बाँसखर्कबासीको मेहनत र उद्यमले बाँसखर्कले मुलुकमै आफ्नो अलग पहिचान बनाएको वताउँदै सुन्तला उत्पादनबाट यहाँका जनताको समृद्धि र पहिचान बढेको र रोजगारीको अवसर समेत सिर्जना भएको उनले बताए । उनले विगतमा आफू जनप्रतिनिधि हुँदा यस क्षेत्रको बाटो, बिजुली, खानेपानी, सिंचाई र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको जानकारी दिँदै अझैपनि यहाँको विकासका लागि निरन्तर समर्पित हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बाँसखर्क गाउँ र यहाँको सुन्तला जलजला गाउँपालिकाको गौरव भएको वताउँदै यहाँका सुन्तला कृषकहरुलाई प्रर्वद्धन गर्न गाउँपालिका सँधै प्रतिबद्ध रहेको धारणा राखे ।
उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको वताउँदै स्थानीय सरकारमाथि केन्द्र र प्रदेश सरकारको हस्तक्षेपकारी भूमिका कारण काम गर्न कठिनाई भएको दाबी गरे । बेनी–बाँसखर्क मोटरबाटोको स्तरोन्नति देखि सुन्तला किसानको लागि प्रवद्र्धनात्मक कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने विश्वास दिलाए । उनले वर्तमान सरकारले नयाँ संविधानले दिएको अधिकारलाई समेत स्थानीय तहलाई उपभोग गर्नबाट बञ्चीत गराएको आरोप लगाए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव अच्युतप्रसाद ढकालले जलजलाको बाँसखर्क अति रमणीय र सुन्तलाको उत्कृष्ट भूगोल भएको दाबी गर्दै बाँसखर्कमा निर्माण भएको यो शीतभण्डार सुन्तला किसानलाई एक टोकनको रूपमा दिइएको वताए । सचिव ढकालले अझै ठूलो शीतभण्डारको लागि यहाँका कृषकहरुले सुन्तलाको उत्पादनलाई बढाउँदै लान सुझाव दिए । उनले बाँसखर्कको सुन्तला मुलुककै गुणस्तरीय सुन्तला भएको दाबी गरे ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, जलजला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तुलसीराम रेग्मी र नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डा.चूडामणि शर्मा, बजारमारे सुन्तला सहकारीका अध्यक्ष जगतबहादुर खत्री, सचिव ख्यामबहादुर खत्री, कोषाध्यष रेवती खत्रीलगायतले बोलेका थिए ।
शितभण्डार सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट ४८ लाख ६२ हजार, सहकारीबाट आठ लाख ५९ हजार तीनसय ४०, सदस्यहरुबाट पाँच लाख ३४ हजार नौसय, वडा कार्यालयबाट एकलाख १५ हजार र पोखरीको श्रमदानबाट १५ लाख गरि ७८ लाख ७१ हजारको लगानी रहेको छ ।




