spot_img

सूचना प्रविधि विधेयकको विरोधमा पर्वत काँग्रेसले बुझायो बिरोधपत्र

पर्वत, माघ ५–सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस पर्वतले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बिरोधपत्र बुझाएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको काँग्रेस नेता कार्यकर्ताको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ कल्पना घिमिरे नेपालमार्फत सरकारलाई बिरोध पत्र बुझाएको हो ।
नेपाल विशेष सेवा गठन र सञ्चाल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सूचना प्रविधि विधेयक लगायत संविधान प्रदत्त नागरिक अधिकार हनन गर्ने सरकारी नीतिविरुद्ध सरकारलाइ विरोध पत्र बुझाएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य जोशीले संविधानले दिएको आम नागरिकको स्वतन्त्रता हनन गर्नेगरी बिधेयकको तयारी भएको बताए । संविधानसभा सदस्यसमेत रहेका जोशीले बर्षौबर्ष लोकतन्त्र र नागरिक सर्बोच्चताका लडेको नेपाली काँग्रेसले यो बिधेयक स्वीकार्नै नसक्ने धारणा राखे । ‘बिधेयक सरकारले फिर्ता गर्नुपर्छ, बोल्न पाउने, लेख्न पाउने नागरिकको मौलिक अधिकारलाई कुष्ठित पार्न पाइदैन’ उनले भने–‘सरकारले टेरेन भने काँग्रेस सडक र सदनबाट आन्दोलन गर्न बाध्य हुनेछ ।’
जोशीले सरकारका कमिकमजोरी भएको, भ्रष्टाचार बढाएको, महंगी र कर अचाक्ली भएपछि सरकारले सामाजिक सञ्जालको आलोचनाबाट जोगिनका लागि नागरिकको आवाज बिधेयकबाट नियन्त्रण गर्न खोजेको दाबी गरे । विधेयकको दफामा सामाजिक सञ्जालमा कसैले होच्यायो, जिस्कायो, गाली गलौज गरेमा मुद्दा हाल्न पाउने र त्यसको सजाय पाँच वर्ष कैद र १५ लाखको जरिवानाको ब्यवस्था हुनैनसक्ने काँग्रेसको ठम्याई रहेको सभापति भुसालले बताए ।
नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सूचना प्रविधि बिधेयक गलत नियतले आएको टिप्पणी गरे । ‘सरकारले आलोचना दबाउनका लागि यो बिधेयक ल्याएको हो’ उनले भने । सविधान विपरित जनताको मौलिक हक अधिकार अफ्ठ्यारोमा पारेमा नेपाली काँग्रेसले निरन्तर खबरदारी गर्ने पनि मल्लले बताए ।
बिरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले सम्बन्धित ठाउँमा पठाउने बताएकी थिइन । जिल्ला सभापति खिमप्रसाद भुसालले बिरोधपत्र बुझाउनका लागि प्रजिअ घिमिरेसँग १२ बजेको समय लिएका थिए । सवा १२ बजे प्रशासनमा काँग्रेसको टोली ¥यालीसहित पुगेको थियो । त्यहाँ प्रजिअ नेपाल नभेटिएपछि भने केहीबेर काँग्रेस नेता कार्यकर्ता आक्रोशित भएका थिए । प्रजिअ नेपाल काम विशेषले बाहिर गएको भन्दै दिउँसो १ बजे कार्यालय पुगेकी थिइन ।
उनी पुगेसँगै केन्द्रीय सदस्य जोशीले आक्रोशित हुँदै कांग्रेसको बिरोध पत्र बुँझ्न समय नदिएको भन्दै त्यो पार्टीले नोटिस गर्ने बताएका थिए । प्रजिअ नेपालले कामविशेषले बाहिर निस्कदा केही ढिलाई भएको भन्दै आगामी दिनमा त्यस्तो नहुने बताएकी थिइन ।

spot_img

भर्खरै