spot_img

काँग्रेसको पालामा भित्रिएका ठुला क्रमागत योजना कटौती गरेर बर्तमान सरकारले पर्वतेली जनतालाई धोका दियो : जोशी

पर्वत, माघ १–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वतमा भित्राएको विकास कम्युनिष्टले ५० बर्षमा पनि ल्याउन नसक्ने दाबी गरेका छन् । फड्केढुङ्गा आधारभूत विद्यालय जलजलाको ५८ औं अभिभावक दिवस तथा बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले जनताका साना आधारभुत समस्यादेखि ठुला योजनासम्म आफुले भित्राएको बताए । ‘जिल्लाका ठुला योजना म सांसद हुँदा सुरुवात भएका हुन’ उनले भने ।
आज कालोपत्रे गरियो भनेर जतिसुकै हल्ला गरेपनि त्यो कालोपत्रे भन्दा हिजो कच्ची सडकको ट्रयाक खोल्न निकै कठिन रहेको जोशीको भनाई थियो । सडक, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्यमा निरन्तर काम गरेको नेता जोशीले स्मरण गरे । आफ्नो पालामा पर्वतमा भित्राएका सडक, सिंचाई, खानेपानी, नदी नियन्त्रणका ठुला क्रमागत योजनालाई बर्तमान सरकार आएपछि कटौती गरेर पर्वतेली जनतालाई धोका दिएको पनि जोशीले बताए । नेपाली काँग्रेसका प्रभावशाली नेतासमेत रहेका जोशीले पर्वतमा आफुले जति काम गरेपनि कहिल्यैपनि विकाससँग भोट नजोडेको पनि जानकारी दिए । ‘मैले विकास गर्दा र योजना भित्राउदा भोटको कुरा कहिल्यै गरिन’ उनले भने ।

नेता जोशीले अहिलेको नेकपा नेतृत्वको सरकार बनेपछि नागरिक कमजोर बनेको पनि बताए । ‘बलियो सरकारका नागरिक पनि बलियो हुनुपर्ने थियो तर अहिले बलियो सरकारका नागरिक कमजोर छन्’ उनले भने–‘नेता र मन्त्रीसँग जनता डराउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ ।’ संविधानले नागरिकका अधिकार सुरक्षित गरेपनि अहिलेको सरकारले नागरिकको स्वतन्त्रतालाई अंकुश लगाउने तयारी गरेको पनि जोशीले बताए । उनले बर्तमान सरकार बनेपछि अर्बौ भ्रष्टाचार भइरहेको टिप्पणी पनि गरे । ‘हिजो हजार र लाखमा सुनिने भ्रष्टाचार यो सरकार बनेपछि अर्बौका अर्बौ भ्रष्टाचार भइरहेको छ’ जोशीले भने–‘बालुवाटार काण्ड, वाइडबडी काण्ड, एनसेलकाण्डलगायत त्यसैका उदाहरण हुन ।’
जोशीले सामुदायिक विद्यालयमा ठूलो सरकारी रकम खर्च भईरहेको तरपनि विद्यार्थी घट्दै जानू चिन्ताको बिषय भएको धारणा राखे । सरकारी विद्यालयमा एकजना विद्यार्थीका लागि ६० हजारसम्म खर्च भईरहेको भन्दै नेता जोशीले सामुदायिक विद्यालयप्रति गुमेको अभिभावकको विश्वासलाई पुनर्स्थापित गर्न गुणस्तरमा उल्लेख्य सुधार आवश्यक रहेको बताए । नेता जोशीले विद्यालयका भवन सुन्दर भएर मात्रै विद्यार्थी आकर्षित गर्न नसकिने वताउँदै कक्षा कोठामा विद्यार्थी भरिभराउ पार्न समय अनुकुल र गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय प्रशासनलाई सुझाव दिए ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष एबम् नेपाली काङ्ग्रेस पर्बतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि जलजला गाउँपालिकाले हरेक विद्यालयमा शैक्षिक सुधार अभियान अगाडी बढाएको बताए । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित हुने बातावरण बनाउन आग्रह गर्दै अध्यक्ष मल्लले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । उनले आफु गाउँपालिकाको अध्यक्षको जिम्मेबारीमा आएपछि धेरै काम गरेको बताए । स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पूर्वाधारमा जोड दिएको भनाई उनको थियो । गाउँपालिकाको सीमित स्रोत र साधनले जनताका सबै समस्यालाई सम्बोधन गर्न नसकिएको भन्दै उनले संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहलाई दिने बजेट निकै न्युन भएको बताए । बासखर्कदेखि बनौसम्मका जनतालाई आफुले समान रुपमा ब्यवहार गरेको मल्लले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पर्बतका जिल्ला कार्य समिति सदस्य डा चूडामणि शर्माले शैक्षिक गुणस्तर बृद्धिका लागि सबै क्षेत्रबाट सुधार हुनुपर्ने बताए । जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले शैक्षिक गुणस्तर बृद्धिका लागि जोड दिएको जानकारी दिए ।
कार्यक्रममा जलजला ४ का वडाअध्यक्ष भीष्म मल्ल, जलजला २ का वडाअध्यक्ष गोविन्द खत्री, नेपाली काङ्ग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, नेकपाका प्रतिनिधि टेकबहादुर जिसी, नेपाल शिक्षक सङ्घ पर्बतका पूर्व अध्यक्ष मुरारी शर्मा, ग्रामप्रकाश माबिका प्रधानाध्यापक भवानीशंकर पौडेल, अमृत आदर्श आमाबिका प्रिन्सिपल इन्द्रबहादुर अधिकारि, पूर्व शिक्षक कृष्णबहादुर खत्री, अभिभाबक टीका जिसी, विद्यार्थि दृष्टि जिसी, जोन्सन मल्ल लगायतले बोलेका थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक गोपाल शर्मा र कृष्ण पौडेल, स्वागत मन्तव्य शिक्षक बलराम रेग्मीले गरेका थिए ।

spot_img

भर्खरै