पर्वत, पुस २७-नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई प्रशंसा पत्रले सम्मान गरेको छ । पर्वत जिल्लामा प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई गण्डकी प्रदेशमै उत्कृष्ट बनाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्बतका स्थानिय तहलाई सम्मान गरेको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङ र महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैलाई प्रसंसा पत्र प्रदान गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर बि पौडेलले समुदाय–प्रहरी साझेदारी कार सफल भएको बताउनुभयो । उहाँले सरकारले अघि सारेको सुखि नेपाली समृद्ध नेपाललाई सफल पार्नका लागि पनि यो कार्यक्रम महत्वपुर्ण बनेको बताउँदै यस्ता कार्यक्रमहरुलाई निरन्तरण दिनुपर्ने बताउनुभयो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले समुदायका हरेक पक्षमा प्रहरी अनिवार्य जस्तै भैसकेको अवस्थामा प्रहरीलाई साधन र श्रोतले सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहमा प्रहरीको पहुँचलाई बृद्धि गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जलजला गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाको माग गर्नुभएको छ । उहाँले प्रहरी र स्थानीय तहबीच राम्रो सहकार्य भएको बताउँदै आगामी दिनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सहकार्यको खाँचो रहेको बताउनुभयो । उहाँले पर्बतमा नयाँ प्रहरी प्रमुख श्याम अर्याल र प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल आयपछि सबैसंग समन्वय भयको पनि बताउनुभयो । सो अवसरमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी बिनोद शर्मा घिमीरेले जनताको बिचमा प्रहरी जाने यो भन्दा राम्रो कार्यक्रम आगामी दिन आउन नसक्ने बताउनुभयो । समुदायलाई सचेतीकरण गर्नका लागि यो कार्यक्रम सफल भएको बताउँदै शिक्षा, स्वास्थ्य र अपराध न्यूनिकरणमा यो कार्यक्रमको भूमिका महत्वपुर्ण देखिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्बतका अध्यक्ष छबिलाल तिवारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिवप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो । २०७५ कात्तिक देखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले विभिन्न १२ वटा विधामा रहेर कार्यक्रम संचालन गरेको थियो । समुदाय, विद्यालय, स्थानीय तह, विभिन्न सामाजिक संघ संस्था, कर्मचारी, मजदुर लगायतलाई सहभागि गराएर प्रत्येक वडा, टोल र गाउँसम्म पुगेर कार्यक्रम संचालन गरिएको प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।



