पर्वत, भदौ १८–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले विकासमा राजनीतिलाई जोड्न नहुने बताएका छन् । उनले जनतालाई अहिले विकास चाहिएकोले राजनीतिक कुरालाई चुनावमा मात्रै गर्नेगरी सबै विकासमा एकजुट भएर जुट्ने बेला आएको बताए । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको बुधबार उद्घाटन गर्दै मल्लले यस्तो बताएका हुन ।
राजनीतिको कुरा छोडेर विकास निर्माणमा जुट्न सबै दलका प्रतिनिधिलाई आग्रह गर्दै मल्लले राजनीतिको आग्रह पूर्वाग्रहले समुदायको एकता खल्बलिने र विकास समेत पछि पर्ने भएकोले विकास र समृद्धिका लागि सबैको एकता र सहकार्यको जरूरी रहेकोमा जोड दिए । ‘राजनीतिको कुरा अर्को चुनावमा गरौंला, चुनावसम्म सबैले विकासको कुरा गरौं’ नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका अध्यक्ष मल्लले भने ।
संघीय व्यवस्थामा पनि जनताले संविधानले दिएको अवसर र अधिकार उपभोग गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश र केन्द्र सरकारबाट स्थानीय तहका अधिकारमाथि अतिक्रमण भएको दाबी मल्लले गरे । स्थानीय तहलाई पूर्ण अधिकारसम्पन्न नबनाएसम्म जनताको आर्थिक समृद्धि असम्भव रहेको उनको दाबी थियो ।
अध्यक्ष मल्लले शिक्षा र स्वास्थ्य मानव विकास सूचकांकको प्रमुख आधार मानेर जलजला गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम अघि बढाएको उल्लेख गर्दै त्यसका अलावा पर्यटन, कृषि र पशुपालनलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । मल्लले ग्रामप्रकाश माध्यमिक विद्यालय जलजला गाउँपालिकाको अग्रणी शैक्षिक संस्था भएको वताउँदै विद्यालयको भौतिक पूर्वाधार विकासमा गाउँपालिकाले सहयोग गर्ने तर शैक्षिक विकास र व्यवसायिक शिक्षाका लागि विद्यालय प्रशासनलाई आग्रह गरे ।
जिल्ला समन्वय समिति पर्वतका सदस्य ओमप्रसाद रेग्मीले विद्यालयमा भवन र कक्षा कोठा मात्रै सुन्दर भएर शैक्षिक सफलता प्राप्त हुन नसक्ने भन्दै शिक्षाको गुणस्तर कायम गर्न विद्यालय प्रशासनलाई सुझाव दिएका थिए । युगअनुकुलको व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिन समेत आग्रह गर्दै रेग्मीले जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले आग्रह पूर्वाग्रह नराखी काम गरेकोमा प्रशंसा समेत गरेका थिए ।
नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, जलजला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तिलकबहादुर जिसी, जलजला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, जलजला गाउँकार्यपालिकाका सदस्य दिनेश नेपाली, नेकपाका प्रतिनिधि डण्डपानी सुवेदी, नेपाली काँग्रेसका प्रतिनिधि तथा जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार यम शर्मा पौडेल, विद्यालयका सहायक प्रअ नारायण मल्ल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका प्रतिनिधि थलराम पौडेल, विद्यालयका भूपू व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द पौडेल, विद्यालयका भूपू प्रधानाध्यापक लेखनाथ रेग्मी, भवन निर्माण समितिका सदस्य डण्डपानी सुवेदी, काँग्रेसका नेता गोविन्द पौडेल, ग्रामप्रकाश बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लीराज सुवेदी, शालिजा मावि शालिजाका प्रअ कृष्णप्रसाद पराजुली, देविस्थान प्राविका प्रअ धर्मदत्त पौडेल, लेकफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर पौडेल, विद्यालयका छात्र विधान पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुङ्गनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेलले गरेका थिए । स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद रेग्मीले गरेका थिए । २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुईसय ५० जना विद्यार्थीले अध्ययन गर्दै आईरहेको प्रधानाध्यापक भवानीशंकर पौडेलले जानकारी दिए । सोही अवसरमा विद्यालयका पूर्व शिक्षक विष्णुप्रसाद सुवेदीले आफ्नो स्वर्गीय श्रीमती डिलकुमारी सुवेदीको नाममा दुई लाखको अक्षयकोष स्थापना गरेका थिए । सुबेदी परिवारलाई बिद्यालयले सम्मान गरेको थियो ।




