पर्वत, भदौ १७– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले धर्मनिरपेक्षता घोषणापत्रि सनातन धर्मसंस्कृतिमाथि निरन्तर प्रहार भइरहेको बताए । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङले आयोजना गरेको बृहत तीज मेलाको उद्घाटन गर्दै मल्लले सनातन धर्मसंस्कृतिमाथिको आक्रमणले धर्मनिरपेक्षताप्रति नै सोच्न बाध्य बनाएको दाबी गरे ।
‘नयाँ संविधानमा धर्मनिरपेक्षता कायम गरेदेखि नै निरन्तर सनातन धर्मसंस्कृतिमाथि आक्रमण भइरहेको छ, यसले सोच्न बाध्य बनाएको छ’ उनले भने । विगतमा बिदा दिने चाडवाडमा बिदा नदिने, घटाउने, गौहत्या बढ्नु, मठमन्दिर भत्काउनु, लोभलालचमा धर्मपरिवर्तन गराउनु राम्रो संकेत नभएको उनले बताए । उनले मेलामहोत्सवले धर्मसंस्कृति, कला संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे । उनले जलजला गाउँपालिकाले लोप हुँदै गएका कला संस्कृति, परम्पराको संरक्षणका लागि प्राथमिकता दिएको दाबी गरे ।
जलजला गाउँपालिकाले सडक, खानेपानी, सिंचाईसहितका भौतिक पूर्वाधारसँगै कला संस्कृतिको संरक्षण र चेतनास्तरमा बृद्धिमा जोड दिएको जानकारी दिए । उनले दुई तिहाईको नाममा बनेको सरकारले विशेषगरी हिन्दुधर्मावलम्बीको चाडपर्वका बिदा कटौती गर्ने, बिदा घटाउनेलगायतका काम गरेकोमा बिरोध जनाए ।
नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले कला संस्कृतिको संरक्षणसँगै बढ्दो पश्चिमी संस्कृतिको अन्त्य गर्नुपर्ने बताए । हाम्रो धर्मसंस्कृतिका केही गलत पाटाहरु छन भने सुधार गर्न सकिने भएपनि धर्मसंस्कृतिलाई नै निमेठ पार्ने काम सहन नसकिने धारणा राखे ।
जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसीले मौलिक कला संस्कृतिको संरक्षण र पहिचानका निम्ति तिज मेला सञ्चालन गरेको बताए । मेला बुधबारसम्म सञ्चालन हुने पनि उनले जानकारी दिए । वडा अध्यक्ष जिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता सोम जिसीलगायतले बोलेका थिए ।



