पर्वत, भदौ १७–नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले फलेवास नगरपालिकाले जनताको भावना अनुसार काम गर्न नसकेको बताएका छन् । विकासमा आग्रह÷पूर्वाग्रहका आधारमा काम गरेको दाबी गर्दै दुईतिहाइ बहुमत साथमा हुँदा पनि फलेबास नगरपालिका कुहिरोको कागजस्तै अलमलिएको तिवारीले आरोप लगाए ।
पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबले आयोजना गरेको तीज मेलाको उद्घाटन गर्दै काँग्रेस नेता तिवारीले नगरपालिका जितेको २८ महिनासम्म पनि भवनको टुंगो लगाउन नसकेको र त्यही कामबाट नगरप्रमुखको कार्यक्षमताको परिक्षण भइसकेको धारणा राखे ।
उनले नगरपालिकामा आफु चुनाव हारे पनि कार्कीनेटादेखि पाङराङसम्म जनताको सुख दुःखमा आफू निरन्तर खटिरहेको र आगामी दिनमा समेत जनताकै बीचमा रहने प्रतिबद्धता जनाए । उनले आफु पदमा नरहेपनि धेरै काम गर्दै आएको बताए । उनले तीजसँगै बिजयादशमी, दिपावली, छठलगायतका चाडपर्वको शुभकामना दिए ।
फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङका वडा अध्यक्ष जीतबहादुर सुनार (शेरबहादुर)ले पाङराङको बाटो, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने भएपनि नगरपालिका भित्रको सिमित श्रोत साधनको कारण अपेक्षाकृत विकास गर्न नसकिएको वताए । आफ्नो कार्यकालभित्रमा पाङराङबासीका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाउदै वडा अध्यक्ष सुनारले क्लवले आयोजना गरेको सास्कृतिक कार्यक्रमले वडाबासीहरूमा सहसम्बन्ध स्थापना गर्ने विश्वास व्यक्त गरे ।
फलेवास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्कीले पाङराङ कृषिका लागि आफैमा उर्वर भूमि भएको वताउँदै फलेवास नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । कार्कीले तिजको अवसरमा राखिने यस्ता कार्यक्रमले भातृत्व र भगिनीत्वको सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरि नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले धर्म संस्कृतिको रक्षार्थ क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्दै लोक संस्कृतिको विकासका लागि क्लवलाई आगामी दिनमा अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।
नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य माया पाठक, नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री हरिहर शर्मा, नेपाली काँग्रेस पर्वतका आमन्त्रित जिल्ला सदस्य शिवप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल दलित संघ पर्वतका जिल्ला अध्यक्ष याम परिवार (शिब) लगायतले शुभकामना राखेका थिए ।
पाङराङ युवा समाजका अध्यक्ष सुन्दर वरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका संस्थापक अध्यक्ष सन्तोष पाठक, स्वागत कार्यक्रम संयोजक सन्दिप पाठक र नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईलीले गरेका थिए । मेला बुधबारसम्म चल्नेछ ।



