
पर्वत, भदौ ८–नेपाली काँग्रेस जलजला गाउँपालिका समितिको कार्यालय भवन (बिपि स्मृति भवन)एक बर्षभित्रै निर्माण सम्पन्न गरिने भएको छ । गत फागुनमा नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गरेको उक्त भवनको निर्माण कार्य दु्रत रुपमा अघि बढ्ने भएको हो । २०१५ सालका नेपाली काँग्रेसको तर्फबाट संसदको उम्मेदवार भएका मोहनबहादुर मल्लका परिवारले जग्गा निशुल्क प्रदान गरेपछि गत फागुनमा देउवाले भवनको शिलन्यास गरेका थिए । उक्त भवनका लागि जलजला गाउँपालिकाले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
आइतबार जलजला गाउँकार्यपालिकाको बैठकले सर्बसम्मत रुपमा उक्त रकम भवन निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष र भवन निर्माण समितिका संयोजक समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘वीपी काँग्रेसको मात्र नभएर सिंगो राष्ट्रको नेता भएकोले उहाँको स्मृतिमा बन्न लागेको भवनमा सबै कार्यपालिका सदस्यज्यूहरुले हार्दिकता देखाउनुभयो’ गाउँपालिका अध्यक्ष मल्लले भने । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएका अन्य नेताहरुको स्मृतिमा समेत गाउँपालिकाले आगामी दिनमा पनि बजेट विनियोजन गर्ने मल्लको भनाई छ । उक्त भवन निर्माणका लागि अध्यक्ष मल्लले ब्यक्तिगत रुपमा पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । जलजलाका विभिन्न जनप्रतिनिधिहरु र अन्य शुभेच्छुकहरूबाट समेत लाखौं रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आइसकेकोले पनि भवन निर्माणको काम तिब्रताका साथ अघि बढ्ने मल्लले जानकारी दिए ।
मल्लले भवन निर्माणमा सहयोग गर्न नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संघ संस्थाका साथै देश तथा विदेशमा रहेका विभिन्न शुभेच्छुकहरूसँग हार्दिक अपिल गरेका छन् । भवन निर्माण समितिले मोहनचोकको एक रोपनी क्षेत्रफलमा तीनतलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । पछिल्लो समय उदीयमान युवाका रूपमा राजनीतिमा सक्रिय मल्ल नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष हुन । अध्यक्ष मल्लको अग्रसरतामा स्वर्गीय मोहनबहादुर मल्लको परिवारले ९० लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराएको थियो । स्वर्गीय मोहनबहादुर मल्ल नेपालको प्रजातान्त्रिक आन्दोलनका कुशल योद्धा र नेपाली साहित्यका उज्वल नक्षत्रमा रूपमा परिचित छन् । शैक्षिक र सामाजिक क्षेत्रमा उनको परिवारले समेत अग्रणी भूमिका खेल्दै आएको छ । वीपी स्मृति भवन निर्माण परिसरमै स्वर्गीय मोहनबहादुर मल्लको शालिक समेत निर्माण गरिने भएको छ ।
यसैगरी जलजला गाउँपालिकाको आइतबार सम्पन्न बैठकले विभिन्न चाडपर्वलाई मध्यनजर गर्दै गाउँपालिका भित्रका सडकहरूको मर्मत गर्नेगरी २० लाख रकम विनियोजन गरेको छ । साथै यात्रुहरुको सहज आवागमनमा लागि ग्रामीण सडकमा चल्ने सबारीसाधनमा भाडा समायोजन गर्ने लगायतका निर्णयहरु गरेको गाउँपालिकाका प्रवक्ता देवेन्द्र भण्डारी (रवि)ले जानाकारी दिए । ‘छिट्टै नै सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर गाउँपालिकाभित्रको यातायातको भाडा समायोजन गर्छौ’ वडा नम्बर ३ का अध्यक्ष समेत रहेका भण्डारीले भने ।


