पर्वत, भदौ १०–जलजला गाउँपालिकाले अबरुद्ध भएका कच्ची सडकलाई तत्काल मर्मत गर्ने भएको छ । बर्षाका कारण अबरुद्ध भएका ग्रामिण कच्ची सडकलाई मर्मत गरी मुख्य चाडपर्वअघि नै सवारी साधन सहज रुपमा सञ्चालनको ब्यवस्था मिलाउने भएको हो । बर्षाको कारण वडाका मुख्य कच्ची सडक नै अबरुद्ध छन् ।
आवतजावतमा समस्या भएको भन्दै गाउँपालिकाले चाडपर्वहरु समेतलाई दृष्टिगत गरी सार्वजनिक खरिद ऐन, २०६३ अनुसार प्राविधिक नापजाँचको आधारमा लागत अनुमान तयार गरी कोटेशनबाट मर्मत गर्ने निर्णय भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘बर्षाले ग्रामिण सडकहरुमा पहिरो थुप्रिने, भत्कने भएका कारण तत्काल मर्मत गरेर यातायात आवतजावत सहज बनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ’ मल्लले भने ।
गाउँसभामा वडा–वडामा बिनियोजित शिर्षकबाटै मर्मतको काम सम्पन्न गर्ने कार्यपालिका बैठकले निर्णय गरेको हो । अहिले मुख्य कच्ची सडकमा निकै मुस्किलले जीप चलेपनि अधिकांश ग्रामिण कच्ची सडक अबरुद्ध रहेका छन् । सडक मर्मत गरेर चाडपर्व अगावै सहज बनाउने मल्लले जानकारी दिए ।
यसैगरी जलजला गाउँपालिकाले गाउँपालिकाभित्रको भाडादर निर्धारण गर्ने भएको छ । कच्ची सडकमा मनपरी भाडादर लिएको गुनासो बढेपछि कार्यपालिका बैठकले नयाँ भाडादर तोक्ने तयारी गरेको हो । यातायात ब्यवसायीलगायत सरोकारवाला निकायसँग छलफल तथा समन्वय गरी नयाँ भाडादर कायम गर्नका लागि गाउँपालिकाले समिति गठन गरेको छ । जलजला गाउँपालिकाका प्रवक्ता एवम् पूर्वाधार विकास समितिका अध्यक्ष देबिन्द्रबहादुर भण्डारी (रवि)को संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा वडा नम्बर ६ का अध्यक्ष हमबहादुर फकामी पुन, वडा नम्बर ७ का अध्यक्ष टुंगनाथ शर्मा, वडा नम्बर ५ का अध्यक्ष तिलकबहादुर जिसी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा र कर्मचारी जितेन्द्र चौधरी रहेका छन् । समितिले तत्काल यातायात ब्यवसायी र सरोकारवाला निकायसँग छलफल गरी नयाँ भाडादर कायम गर्ने समितिका संयोजक एवम् गाउँपालिकाका प्रवक्ता भण्डारीले जानकारी दिए । ‘यात्रुबाट बढी भाडादर लिएको गु्नासा आएका छन्, गुनासा नआउने गरी नयाँ भाडादर कायम गर्छौ’ उनले भने ।
यसैगरी जलजला गाउँपालिकाले करार सेवामा रहेका कार्यालय सहयोगीलाई साउनदेखि लागुहुने गरी मासिक नौ हजार पाँच सयसम्म तलब पाउदै आएकालाई चार हजार थप गरी १३ हजार पु¥याउने निर्णय गरेको जनाएको छ । त्यस्तै बिदाको समयमा काम गरेको अभिलेखको आधारमा नर्सिङ सेवाका कर्मचारीले उचित भत्ता समेत पाउने भएका छन् । रातको समयमा काम गर्ने स्वास्थ्य कर्मचारीलाई खाइपाइ आएको भत्ता कटौती भएपछि जलजलाको गाउँकार्यपालिका बैठकले नयाँ निर्णय गरेको हो ।
जलजला गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामी, बाढीपीडित तथा गम्भिर समस्यामा परेकालाई गर्ने सहयोगलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । गाउँपालिकाले विकास निर्माणसँगै मानविय संबेदनशिलता, महिला, दलित तथा फरक क्षमता भएकाको क्षमता विकासलगायतमा समेत उत्तिकै महत्व दिदै आएको जनाएको छ । जलजला गाउँपालिकाले गत आर्थिक बर्ष क्यान्सरसहित गम्भिर प्रकृतिका रोग लागेका बिरामी, बाढीपीडितलगायतलाई झण्डै ४० लाख रुपैयाँ सहयोग गरेको बताएको छ ।
मुख्य चाडपर्वअघि नै अबरुद्ध कच्ची सडक मर्मत गर्दै जलजला गाउँपालिका



