spot_img

संगठन निर्माणमा कस्सिए युवराज जोशी, अन्तरघातीलाई गाउँ छिर्न नदिन आग्रह

पर्वत, जेठ २४–नेपाली काँग्रेस पर्वतमा सम्भावना बोकेको नेताको नाम हो युवराज जोशी । कार्यकर्ताको हरेक समस्यासँग जुद्दै र काम गर्दै आएका उनी गाउँगाउँसम्मका कार्यकर्ताको मनमस्तिष्कमा बस्न सफल छन् । पछिल्लो समय काँग्रेसको संगठन बिस्तारमा सक्रिय भएका उनी मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले पुगेर त्यहाँको पार्टीको अवस्थाका बारेमा जानकारी दिएका छन् ।
नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि रहेका युवा नेता जोशीले काँग्रेस हुने र निर्वाचनमा अन्तरघात गर्नेहरुबाट इमान्दार नेता कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिएका छन् ।  उनले काँग्रेसभित्रका अन्तरघातीलाई नेतृत्वले निर्मम भएर कारवाही गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत मोदी गाउँपालिका–१ भुकताङले पुगेका जोशीले सुर्यमुखी काँग्रेसलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्ने बताएका हुन ।

निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने कांग्रेसहरु पनि संगठनभित्र रहेको बताउँदै जोशीले स्थानिय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले नै घात गरेका कारण पर्वतमा काँग्रेस कमजोर देखिएको दाबी गरे । पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गदै नेता जोशीले रुखलाई छोडेर गुटको राजनीति गर्ने अवसरवादीलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘पर्वतमा अन्तरघात गर्ने नेता धेरै छन्, पार्टीको महत्वपूर्ण पदमा भएको व्यक्तिले समेत रुखमा भोट नहाल भन्दै हिँड्छन्’ उनले भने–‘त्यस्तालाई तत्काल कारबाही गर्नैपर्छ ।’ चुनावमा सुर्यमा भोट हाल भन्दै हिँड्ने अहिले पार्टी कमजोर भयो भनेर बोल्दै हिँड्ने नेताहरुलाई गाउँमा छिर्न दिन नहुने पनि उनले बताए । नेता जोशीले जागरण अभियानले पार्टीलाई नयाँ दिशामा अगाडी बढाएको बताउँदै काँग्रेस सच्चिएर अगाडी बढेमा कम्युनिष्टहरु पतन हुने दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य डा.चुडामणि शर्माले काँग्रेसमा अनुशासन र एकताको खाँचो रहेको बताए । काँग्रेसभित्रको आन्तरिक एकताले मात्रै कम्युनिष्टहरुको पराजय निश्चित रहेको भन्दै उनले सबैको एकताको भावनाले पार्टी मजबुत बन्ने दाबी गरे ।
नेपाली काँग्रेस मोदी गाउँपालिका–१ का सभापति जगनवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मोदी गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष भुलबहादुर पौडेल, लप्सीवोट तमु समाज अध्यक्ष कुलविर पुन लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका जिल्ला सदस्य शिशिर शर्मा पौडेलले गरेका थिए ।

spot_img

भर्खरै