पर्वत, माघ २७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले अहिले पनि बर्तमान सरकारले भ्रम छर्न नछोडेको बताएका छन् । पर्वतमा आयोजित कार्यक्रममा बोल्दै उनले आधारभुत आवश्यकतालाई छाडेर नेकपाका जनप्रतिनिधि जनतालाई भ्रमित पार्न लागिपरेको दाबी गरे ।
उनले निर्वाचनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्माको बान्द्रेबिडीमा आएर पोखरामा रेल आउने र त्यो रेल बेनीसम्म पु¥याउने भनेको कुरा अहिले पनि आफुले स्मरण गरेको बताए । ‘चुनावीसभामा आउदा तत्कालिन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बेनीसम्म रेल आउछ र कुश्मामा रेलको स्टेशन आउछ भनेर भन्नुभएकै हो’ जोशीले भने–‘खै कहाँ गयो, त्यो रेल ?’
उनले यो सरकारले कुश्मामा होइन काठमाडौमा समेत रेल ल्याउन नसक्ने दाबी गरे । ‘म काँग्रेसको केन्द्रीय सदस्यको हैसियतले बोल्दैछु, यो सरकारले कुश्मामा होइन, काठमाडौमा रेल ल्याए कम्युनिष्टको झोला बोकेर हिँडछु’ जोशीले भने । उनले भ्रम छर्न सजिलो भएपनि काम गर्न गाह्रो हुने बताए । उनले पर्वत जिल्लामा अर्जुन जोशीले केही गरेन भएपनि पर्वत जिल्ला मानव विकास सुचकांकमा ११ औ जिल्लामा पर्नु आफ्नो लागि गौरब भएको बताए ।
‘०५६ सालदेखि ७४ सम्म जनप्रतिनिधिका रुपमा मैले थुप्रै काम गरेको छु । मलाई अर्जुन जोशीले केही गरेन भन्नेहरु म आउनुअघि पैदल हिड्दै शालिजा, लेखफाँटदेखि टकलाकसम्म पुग्नुहुन्थ्यो तर अहिले मेरै पहलमा निर्माण भएका सडकमा गएर अर्जुन जोशीले के ग¥यो भन्ने हैसियत राख्नुभएको छ’ जोशीले भने–‘म जनप्रतिनिधिका रुपमा पहिलो पटक निर्वाचित हुँदा सडकमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, सञ्चार सबैक्षेत्र निकै पछाडी थियो तर १७ बर्षको अवधिमा पर्वत जिल्ला मानव विकास सुचकांकमा ११ जिल्लामा पुग्दा मलाई खुशी लागेको छ ।’
उनले अर्जुन जोशीले केही गरेन भन्नेहरु खसी डो¥याएर हिँड्नेसँग कुकुर भनेर खोसेर खाएजस्तै भएको टिप्पणी गरे । ‘एउटाले खसी किनेर डो¥याउदै हिडेको रहेछ, १२÷१५ जना छट्टु मिलेछन् र त्यो खसी खाने निधो गरेछन् । तीन जना, तीन जना भएर चार, पाँच ठाउँमा गएर बसेछन् । उनीहरुले पालैपालो ठाउँठाउँमा कहाँबाट ल्याउनुभयो यो कुकुर, कहाँ हिडाल्नुभयो यो कुकुर भनेर भनियो । त्यसपछि खसीवालाले साच्चिकै मैले कुकुर पो ल्याएको रहेछु भनेर छाडेर गएछ र ती छट्टुहरु मिलेर त्यो खसी खाएछन्’ उनले भने । आफुले जिल्लामा भित्राएका क्रमागत योजनामा अहिले बजेट नआएको भन्दै उनले असन्तुष्टि जनाए ।
नयाँ जनप्रतिनिधि आउनासाथ योजनाको शिलन्यास गर्दै हिँडेर मैले ल्याएको भन्ने गरेकोमा पनि उनले आक्रोश पोखे । ‘पर्वतको विकास निर्माणको काममा पुसमा जन्मेको स्यालले माघ महिनाको बखान गरेजस्तै भएको छ । चुनाव जितेको तीन महिनामा शिलन्यास गरेर मैले योजना ल्याए भन्नु भ्रम हो, काम गर्दा कति लामो प्रक्रिया हुन्छ भन्ने मलाई राम्रोसँग अनुभव छ’ उनले भने ।
उनले यो सरकारले गर्ने इच्छा भए धेरै गर्न सक्ने बताए । ‘अहिलेको सरकारले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन नसक्ला तर अरु सबै काम गर्न सक्छ’ उनले भने–‘तर अहिलेसम्म कुनै कामै भएको छैन, पर्वतमा आएका योजनाको बजेट काटिदै गएको छ ।’
‘अर्जुन जोशीले केही गरेन भन्नेहरु छट्टुले खसीलाई कुकुर भनेर लुटेजस्तै हो’



