पर्वत, माघ २७–बसपार्कलाई बर्षेनी मेला महोत्सव लगाउन कब्जा गरिएपछि यातायात ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । यहाँको बसपार्कमा सवारी हटाएर महोत्सव आयोजना गरिएपछि सवारी साधन सडकमै पार्किङ गर्न सवारीधनी बाध्य छन् । कुश्मा नगरपालिका वडा नम्बर ६ बान्द्रेबिडीमा पोखरा–बागलुङ सडकसँगै रहेको कुश्मा बसपार्क कब्जा गरेर महोत्सव गरिएको हो ।
नारी उत्थान समाजका अध्यक्ष एवम् पूर्वसांसद कल्पना चापागाईले राजनीतिक पहुँच देखाएर बसपार्क कब्जा गरी १० दिने महोत्सव आयोजना गरेकी हुन । राजनीतिक शक्तिको दुरुपयोग गरी प्रहरी प्रशासन र केही जनप्रतिनिधिको मिलेमतोमा चापागाईले बसपार्क कब्जा गरी महोत्सव गरेकी हुन । चापागाईले बसपार्क कब्जा गरेर महोत्सव लगाउन सुरु गरेपछि प्रहरी प्रशासन र जनप्रतिनिधिलाई आफ्नो वसमा पारेपछि यातायात ब्यवसायी र ट्राफिक प्रहरी निरिह बनेका छन् ।
पर्वतमा लामो समयदेखि बसपार्क निर्माणका लागि आवाज उठ्दै आएको थियो । तत्कालिन जिल्ला विकास समितिले उक्त जग्गामा बजेट बिनियोजन गर्दै आएको थियो । बिषयगत मन्त्रालयले पनि बसपार्कका लागि पछिल्ला केही बर्ष बजेट बिनियोजन गर्दै आएको थियो । विगतमा हिलो र खाल्डा–खुल्डी रहेको ठाउँलाई बिद्युत आयोजनाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत, बसपार्क निर्माण समितिले गिट्टी बिछ्याएर सम्याउने काम गरेपछि सवारी साधन पार्किङ गरिदै आएको थियो ।
विगतमा सडकमै सवारी पार्किङ गर्दा अब्यवस्थित र दुर्घटना बढेपछि सरोकारवाला निकायको पहलमा सार्वजनिक जग्गालाई बसपार्कका रुपमा विकास गर्र्दै लगिएको थियो । बसपार्कजस्तो संवेदनशिल ठाउँ हडपेर महोत्सव सुरु भएपछि तिब्र बिरोध भएको छ । विशेषगरी यातायात ब्यावसायीले बसपार्क कब्जा गरेर महोत्सव चलाएपछि सवारी साधन पार्किङ गर्नै मुस्किल भएको गुनासो गरेका छन् । राजनीतिक पहुँचका आधारमा पूर्वसांसदको नाममा बसपार्क कब्जा गर्नु अबैध भएको उनीहरुको आरोप छ ।
यातायात ब्यवसायी हेम शर्माले पहँुचको आधारमा जे गरेपनि हुने गुनासो गरे । ‘बसपार्क कब्जा गरेर महोत्सव लगाएपछि हामीले सवारी सडकमै पार्किङ गर्न बाध्य भएका छौ’ उनले भने । बसपार्कमा हुने मेला महोत्सवले सवारी साधन राख्न निकै कष्टकर भएको उनले बताए । जिल्ला ट्राफिक प्रमुख रामकृष्ण गौलीले स्थानीय तहले नै भाडा लिने गरी स्वीकृति दिएकाले समस्या भएको बताए ।
‘सडकमा साइड च्यापेर सवारी राख्न भनेका छौ, माथिको निकायले दिएपछि मैले केही गर्न सकिन’ उनले भने । उनले सवारी साधनलाई टाढा लगेर राख्न भन्न पनि नसकिएको बताए । ‘दुर्घटना भइ हाल्यो भने समस्या भएको छ’ उनले भने । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफ्नो काम शान्ति सुरक्षा कायम गर्ने भएको र अन्य कुरा थाहा नभएको बताए ।
नारी उत्थान समाजले फागुन ५ गतेसम्म अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा महिला महोत्सव आयोजना गरेको हो । झण्डै तीन बर्षअघि देखि सञ्चालनमा आएको बसपार्कमा अहिले एक सयभन्दा बढी सवारी साधन पार्किङ हुँदै आएका थिए । स्रोतकाअनुसार बसपार्कलाई दैनिक तीन हजार भाडा लिनेगरी कुश्मा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुद्र गिरीले महोत्सव गर्न दिएका हुन । महोत्सवका लागि बसपार्क दिएपछि अहिले खरेहादेखि शिवालयचोक हुदै साझाचोकसम्म छरपस्ट रुपमा सवारी साधन राख्न यातायात ब्यवसायी बाध्य भएका छन् ।
लामो समयदेखि कुश्मामा बसपार्क निर्माण गर्नुपर्छ भनेर निर्माण समितिको अध्यक्ष भएर काम गरेका एकनारायण गिरीले बसपार्कलाई मेला महोत्सव गर्ने स्थल बनाएर अबरोध गराइएको बताए । उनले बसपार्कमा कुनै सहयोग नगर्ने तर मेला महोत्सव मात्रै हुने गरेको भन्दै असन्तुष्टि जनाए । अहिले बसपार्क बनाइएको जग्गा केही ब्यक्तिले आफ्नो बनाउने तयारी गरेका थिए ।




