पर्वत, माघ १८–गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्सालले योजना भित्राउन भन्दा पत्रिकामा समाचार छपाउने प्रतिष्पर्धा भएको टिप्पणी गरेका छन् । जिल्ला समन्वय समिति पर्वतको बार्षिक समिक्षामा बोल्दै मन्त्री लम्सालले पर्वत जिल्लामा आएको विकासमा मैले ल्याएको भन्दै सञ्चारमाध्यममार्फत हल्ला गर्ने परिपाटी भएको बताएका हुन ।
विकासका निम्ति भित्रिएको सबै रकम नेपाल सरकारको भएको स्पष्ट पार्दै लम्सालले हल्ला नगरी काम गर्न आग्रह गरे । अरुले ल्याएका योजनालाई पत्रिकामा छपाएर कुनै अर्थ नरहने भनाई मन्त्री लम्सालको रहेको थियो । ‘विकासका निम्ति आउने सबै पैसा नेपाल सरकारको हो, यहाँ कसैले मैले ल्याएको योजना भन्दै एक÷दुई वटा पत्रिकामा समाचार छपाएर केही हुनेवाला छैन’ लम्सालले भने ।
पछिल्लो समयमा पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम गिरीले पर्वतमा निर्माणाधिन केही योजना आफुले भित्राएको मन्तब्य दिँदै आएका छन् । कार्यक्रममा आफुभन्दा अघि नै सांसद गिरी मन्तब्य राखेर हिँडेपछि मन्त्री लम्सालले कुनै पत्रिकामा लेखाउनुको अर्थ नहुने बताएका थिए ।
मन्त्री लम्सालले पर्वत पर्यटनको क्षेत्रमा कास्कीपछि दोस्रो जिल्लामा रहेको दाबी गर्दै पोखरापछिको पर्यटकीय केन्द्र पर्वतलाई बनाउनेगरी आफ्नो पहल भइरहेको बताए । उनले पर्वत जिल्लामा आगामी तीन बर्षभित्रमा तीन सय किलोमिटर सडक कालोपत्रे हुने पनि ठोकुवा गरे । ‘तीन बर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे हुन्छ’ उनले भने ।
गण्डकी प्रदेशअन्र्तगत पर्वत जिल्लामा सबैभन्दा बढी विकास भएको दाबी उनले गरे । ‘पर्वत जिल्ला गण्डकी प्रदेशमध्ये विकास निर्माणका साथै सबै सुचाकांकको हिसाबले कास्कीपछि दोस्रोमा पर्छ, त्यो निरन्तरको विकासले नै भएको हो’ लम्सालले भने ।
लम्सालले कर्मचारी अभावले प्रदेश सरकारले विकास बजेट खर्च गर्न नसकेको बताएका छन् । यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री लम्सालले केन्द्रबाट कर्मचारी खटिएर नआउदा प्रदेश र स्थानीय तहले समस्या भोगेको बताए । उनले प्रदेशमा आएका कर्मचारी पनि कोही अख्तियारबाट कारबाहीमा परेका, कोही म्याद सकिएर बिदा हुन लागेका भएको जानकारी दिए ।
कर्मचारी अभावले आर्थिक बर्ष सकिन साढे पाँच महिना बाँकी रहदा जम्मा दुई प्रतिशत विकास बजेट खर्च भएको बताए । ‘स्थानीय तहमा मात्रै होइन, प्रदेशमा समेत कर्मचारीको अभाव छ, विकास बजेटको दुई प्रतिशत मात्रै बजेट अहिलेसम्म खर्च भएको छ’ उनले भने । उनले अव रफ्तारमा विकास निर्माणका काम अघि बढ्ने दाबी गरे ।
पत्रिकामा लेखाएर मैले योजना ल्याए नभन्दा हुन्छ ः लम्साल



