पर्वत, माघ १३–नेपाल बिद्यार्थी संघका नेता शिशिर शर्माले आफ्नो जन्मदिनमा बालबालिकालाई कापी कलम बितरण गरेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पसका नेबिसंघ सभापति रहेका शर्माले कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा रहेको श्रमिक प्राथमिक बिद्यालयका बालबालिकालाई आइतबार कापी किलम बितरण गरेका हुन ।
जन्मदिनमा केक काट्ने र हजारौ खर्च गर्ने क्रम बढ्दै गएका बेला शर्माले गरिब, बिपन्न तथा मजदुरका बालबालिका अध्ययन गर्ने बिद्यालयमा पुगेर कापी कलम बितरण गरेका हुन । मालढुंगामा अधिकांश माझीको बसोबास रहेको छ । उनीहरु दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । उनीहरुका बालबालिका श्रमिक प्राथमिक बिद्यालयमा अध्ययन गर्दै आएका छन् ।
आफ्नो सानो सहयोगले श्रमिकका बालबालिकाको अध्ययनमा राहत होस् भनेर जन्मदिनको अवसरमा कापी र कलम बितरण गरेको शर्माले जानकारी दिए । उनले बिद्यालयका ३२ जना बिपन्न बालबालिकालाई प्रतिबिद्यार्थी एक दर्जन कापी र कलम प्रदान गरेका हुन ।
कुश्मा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता राजकुमार क्षेत्रीले बिद्यालयका बालबालिकालाई कापी र कलम बितरण गरेका थिए । कार्यक्रममा बोल्दै काँग्रेसका युवा नेता क्षेत्रीले जन्मदिनमा रचनात्मक र सामाजिक काम गरेकोमा शर्मालाई धन्यबाद दिए ।





