spot_img

काँग्रेस नेता भद्रबिर गुरुङको निधन, सभापति देउवाले ओढाए झण्डा


पर्वत, माघ ५–नेपाली काँग्रेस नेता भद्रबिर गुरुङको निधन भएको छ । तीन सातादेखि बिरामी भइ उपचाररत गुरुङको शुक्रबार निधन भएको हो । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले घर भएका गुरुङ पछिल्लो समय प्यारालाइसिसबाट पीडित थिए । त्यही क्रममा आगोले पोलेपछि गम्भिर घाइते भएका थिए । उनको काठमाडौमा उपचारपछि १० दिनअघिमात्रै पोखरा ल्याइएको थियो ।

बाहिरी घाउ निको भएपनि भित्रभित्रै स्रंक्रमणले बाबुको निधन भएको उनका छोरा अमृतले जानकारी दिए । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि रहेका भद्रबिरको मृत शरिरमा शनिबार गुरुङको पोखरास्थित घरमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको झण्डा ओढाए ।
सो अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा काँग्रेस सभापति देउवाले लोकतन्त्र, शान्ति, विकास र काँग्रेसको पक्षमा भद्रबिरको योगदान सुन्दा उनको निधनले काँग्रेस पार्टीलाई नै अपुरणीय क्षति भएको बताए । देउवाले शोकलाई शक्तिमा बदलेर भद्रबिरले लिएको बाटोलाई नछाड्न र निरन्तर काँग्रेस र लोकतन्त्रलाई बलियो बनाउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले भद्रबिरको पार्टी, विकास र लोकतन्त्रप्रतिको लगाबलाई कहिल्यै भुल्न नसकिने बताए । ‘विकास निर्माण र काँग्रेसप्रति उहाँको लगाव कहिल्यै भुल्न सकिदैन’ नेता जोशीले भने । श्रद्धाञ्जलीसभापछि शव यात्रा निकालिएको थियो । शव यात्रामा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, काँग्रेस पर्वतका पूर्वसभापति लालकाजी गुरुङ, नवराज गुरुङ, प्रदेश सांसद ललितकला गुरुङ लगायत नेताको सहभागिता रहेको थियो ।

 

spot_img

भर्खरै