
पर्वत, मंसिर २४–पर्वत अस्पतालमा नयाँ भवनको शिलन्यास गरिएको छ । ५० शैयाको अस्पताल सञ्चालन गर्नेगरी अत्याधुनिक भवनको शिलन्यास गरिएको हो । सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भवनको शिलन्यास गरेका हुन । भवन शिलन्याससँगै तत्कालिन अध्यक्ष राधाकुमारी क्षेत्रीको सपना र प्रयास साकार हुने भएको छ । भवन पर्वत अस्पतालका तत्कालिन अध्यक्ष क्षेत्रीको विशेष पहलमा परेको थियो । उनले आफु अध्यक्ष नियुक्त भएदेखि नै पर्वत अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि सक्रियता देखाउँदै आएकी थिइन ।
हालसम्म पर्वत अस्पताल दशकौअघि निर्माण भएका जिर्ण भवनमा सञ्चालन हुँदै आएको छ । पर्वत अस्पतालमा अध्यक्ष भएपछि राधाकुमारी क्षेत्रीले नयाँ एम्बुलेन्स र अत्याधुनिक अस्पताल गरी दुई वटा मुख्य काम गर्न सफल भएकी थिइन । जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । ५० शैया र अत्याधुनिक सुबिधा सहितको भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
श्याम सुन्दर÷गोर्खा जे.भी.ले ०७७ पुस २७ गतेसम्म नयाँ भवन निर्माण गरिसक्नुपर्ने समय तोकिएको छ । शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत निर्माण हुन लागेको भवन समयमै सम्पन्न हुनुपर्ने जिल्लाबासीको माग रहेको छ । पर्वतमा बर्षौदेखि योजना परेपनि समयमा निर्माण नभएका थुप्रै योजना रहेका छन् । विशेषगरी पक्की पुल, सडक कालोपत्रेको काम समय घर्किसक्दा पनि जिल्लामा निर्माण पुरा हुन सकेका छैनन् ।
पर्वत गृहजिल्ला भएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आफ्नो यो कार्यकालमा पर्वतका हरेक वडा जोडिने मुख्य सडक कालोपत्रे गर्ने दाबी गर्दै आएपनि विगतको योजना समयमा सम्पन्न नहुने समस्याले पर्वतबासीले विश्वास गर्न सकिरहेका छैनन् ।
कुश्मामा ५० शैयाको अस्पताल भवनको शिलन्यास


