spot_img

सामुदायिकमा घट्दै बिद्यार्थी, राज्यको लाखौँ खर्च बालुवामा

पर्वत, मंसिर २४–कुश्मा नगरपालिका वडा नम्बर १० स्थित लाकुरी आधारभुत बिद्यालयमा अघिल्लो सोमबार जम्मा तीन जना उपस्थित थिए । बिद्यार्थी संख्या सोध्दा बिद्यालयका प्रधानाध्यापक रामप्रसाश शर्माले बिद्यालयमा जम्मा छ जना बिद्यार्थी रहेको दाबी गरे । ‘आज नआएर हो, छ जना बिद्यार्थी नियमित पढ्छन्’ उनले भने । बिद्यार्थी हाजिरी रजिष्टरमा भने १५ जना बिद्यार्थी भर्ना भएको देखिन्छ ।
शर्मासहित यो बिद्यालयमा चार जना शिक्षक छन् । बालकक्षामा एक जना र कार्यालय सहयोगी गरी छ जना राज्यको तलब खाएर यो बिद्यालय धानेका छन् । शिक्षक, कर्मचारीको तलब र अन्य खर्च गरी यो बिद्यालय सञ्चालनका लागि राज्यलाई बार्षिक २० लाखबढी ब्ययभार परिरहेको छ । तर यो बिद्यालयमा तीन जना मात्रै बिद्यार्थी दैनिक पढ्न आउने भेटिएको हो । यसरी हेर्दा एक जना बिद्यार्थीका लागि सरकारले बार्षिक छ लाखबढी खर्च गरेको प्रष्ट देखिन्छ । कक्षा १ र ३ मा एक जना पनि बिद्यार्थी छैनन् । कक्षा–२ मा दुई जना, कक्षा–४ मा एक जना र कक्षा ५ मा एक जना बिद्यार्थी भएको प्रधानाध्यापक शर्माले जानकारी दिए । बालकक्षामा दुई जना बालबालिका छन् ।
कुश्मा नगरपालिका वडा नम्बर १० कै पिपलटारी आधारभुत बिद्यालयमा बालकक्षासहित छ जना बिद्यार्थी छन् । कक्षा–१, ४ र ५ बिद्यार्थीबिहिन रहेको यो बिद्यालयको कक्षा २ मा दुई र कक्षा–३ मा तीन जना बिद्यार्थी छन् । बालकक्षामा एक जना छन् । स्थापनाकालमा ९५ जनासम्म बालबालिका रहेको यो बिद्यालयमा बिद्यार्थी हरेक बर्ष घट्दै गएर अहिले छ जना बिद्यार्थीमा सीमित भएको हो । यो बिद्यालयमा बिद्यार्थी नभएपनि बालकक्षासहित चार शिक्षक कर्मचारी रहेका छन् ।
सोमबारै कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको गायत्री आधारभुत बिद्यालयमा पुग्दा ११ जना मात्रै बिद्यार्थी उपस्थित थिए । कक्षा १ मा तीन जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा तीन जना, कक्षा ४ र ५ मा एक÷एक जना बिद्यार्थी रहेको यो बिद्यालयमा पाँच जना शिक्षक रहेका छन् । अंग्रेजी माध्यममा पढाएपनि बिद्यार्थी आकर्षित गर्न नसकिएको बिद्यालयका प्रधानाध्यापक पिताम्बर अधिकारीले बताए । शैक्षिक गुणस्तरमा कमी नभएपनि बिद्यार्थी घट्दा आफु पनि चिन्तित भएको अधिकारीले जानकारी दिए । ‘६०÷६१ सालमा ९० जनासम्म बालबालिका यो बिद्यालयमा पढ्न आउने गरेका थिए’ उनले भने ।
कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलीपोखरीको अर्जिकोटमा रहेको शहिद शुक्र आधारभुत बिद्यालयको हालत पनि उस्तै छ । यो बिद्यालयमा अहिले आठ जना बिद्यार्थीले मात्रै पढ्ने गरेका छन् । बालकक्षासहित पाँच जना शिक्षक रहेको यो बिद्यालयमा बाल कक्षामा थप चार जना रहेका छन् । प्रधानाध्यापक खिमालाल सापकोटाले बिद्यालय सेवा क्षेत्रमै बालबालिका नभएका कारण बिद्यार्थीको संख्या कम भएको दाबी गरे ।
ठुलीपोखरीकै बसन्त आधारभुत बिद्यालयमा कक्ष १, २ र ४ मा एक जना पनि बिद्यार्थी छैनन् । कक्षा ३ मा तीन जना र कक्षा ५ मा दुई जना बिद्यार्थी मात्रै रहेका छन् । बालकक्षामा पाँच जना छन् । बिद्यार्थी घटेपनि यो बिद्यालयमा बालकक्षा शिक्षकसहित पाँच शिक्षक रहेका छन् । गाउँमै खोलिएको निजि बिद्यालयमा बालबालिका जान थालेपछि यो बिद्यालयमा बिस्तारै बिद्यार्थी कम हुँदै गएका हुन । बसन्त आधारभुत बिद्यालय वरपरबाट इन्क्लुसिभ बोर्डिङ स्कुलमा १५ जना बालबालिका दैनिक पढ्न जाने गरेका छन् । ०६० सालमा यो बिद्यालयमा एक सय ५० बढी बिद्यार्थी भएपनि अहिले कक्षा कोठा नै रित्तिन थालेपछि नगर शिक्षा शाखाले सोच्नुपर्ने अवस्था आएको जनाएको छ ।
कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरस्थित प्रगति आधारभुत बिद्यालयमा ११ जना बालबालिका रहेका छन् । कक्षा ३ सम्म रहेको यो बिद्यालयमा इसिडीमा छ जना भएपनि कक्षा २ मा दुई जना र कक्षा ३ मा दुई जना, कक्षा १ मा एक जना बिद्यार्थी रहेका छन् । त्यस्तै आर्थरकै सरस्वती आधारभुत बिद्यालयको अवस्था पनि नाजुक छ । बिद्यार्थी बर्षेनी घट्दै गएको प्रधानाध्यापक तारा गुरुङले बताइन ।
बालकक्षामा पाँच जना भएपनि कक्ष १ मा तीन, कक्षा २ मा तीन, कक्षा ३ मा एक र कक्षा ५ मा एक जना बिद्यार्थी रहेका छन् । कक्षा ४ मा एक जना पनि बिद्यार्थी छैनन् । यो बिद्यालयमा पनि चार जना शिक्षक कार्यरत छन् । गाउँको यो बिद्यालय छाडेर त्यहाँका बालबालिका पञ्चकोशी मावि पुग्ने गरेका छन् । पञ्चकोशी माविमा केही बर्षयता अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । सरस्वती आधारभुत बिद्यालयमा यसअघि मेखबहादुर गुरुङ प्रधानाध्यापक थिए । उनी अहिले ब्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । आफु प्रअ हुँदा राम्रो बिद्यार्थी भएपनि अहिले घट्दै जाँदा चिन्ता लागेको मेखबहादुरले बताए ।
विशेषगरी द्धन्द्धकालमा गाउँमा निजि बिद्यालय थिएनन् । त्यतिबेलासम्म सामुदायिक बिद्यालयमा बालबालिकाको संख्या उल्लेख्य भएपनि पछिल्लो समय गाउँगाउँसम्म निजि बिद्यालय खोल्दा त्यसको प्रभाव सामुदायिक बिद्यालयमा परेको हो । पछिल्ला केही बर्षदेखि सामुदायिक बिद्यालयमा समेत अंग्रेजी माध्यममा पढाई सुरु गरेको चर्चा गरिएपनि त्यसतर्फ अभिभावक र बिद्यार्थीले विश्वास नगरेको पाइएको छ ।
कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जहाँ बिद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको बताउँछन् । ‘कतै बिद्यार्थी धेरै छन्, शिक्षक अभाव छ तर कतै बिद्यार्थी नै छैनन, शिक्षक मात्रै छन, त्यसैले पनि जहाँ बिद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको छ’ क्षेत्रीले भने । सामुदायिक बिद्यालयका शिक्षकले अझैपनि अभिभावकको मन जित्न नसकेको उनको भनाई छ ।

spot_img

भर्खरै